२०८१ जेष्ठ ४

भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता




काठमाडौँ — भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र प्रधानसेनापति प्रभुराम शर्मालाई छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेको छ । हवाई सेवाका उपप्रमुख मनिषकुमार गुप्ताको नेतृत्वमा एनडीसीको शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदल नेपालमा आएको हो ।

रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरुको रूपमा रहेको उल्लेख गरे । उनले सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको बताए ।


Advertisement


रक्षामन्त्री खड्काले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको पनि बताए । उनले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरुमा यससम्बन्धी संस्थाहरुको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको उल्लेख गरे ।

एनडीसी टोलीले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटघाट गरेको छ । भेटमा परराष्ट्रमन्त्री साउदले टोलीले नेपालको परराष्ट्र नीतिबारे संक्षिप्त चर्चा गरेका थिए ।

भ्रमण टोलीको नेतृत्वकर्ता हवाई सेवाका उपप्रमुख गुप्ताले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको बताए । त्यसअघि सोमबारै उक्त टोलीले प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालय जंगी खड्डामा पुगेर भेटवार्ता गरेको थियो । उक्त अवसरमा द्विपक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको नेपाली सेनाले जनाएको छ । उक्त टोली आइतबार नेपाल आएको हो ।

Copy link
Powered by Social Snap