


काठमाडौँ — सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउनका लागि भनेर संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग आइतबार छलफल गरेका छन् । छलफलबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने संसद्को अवरोध खुल्ने छाँट नदेखिएको बताएका छन् ।
Advertisement


सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकबाट बाहिरिने क्रममा रास्वपाका प्रमुख सचेतक परियारले संसद् खुल्ने आशाका साथ प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा जान लागेको बताए ।

उनले भने, ‘पछिल्ला गतिविधिहरू हेर्दा तत्काल फुक्लाजस्तो देखिँदैन । सबै राजनीतिक पार्टीहरूले आफ्ना विचार संसद्मा राख्न पाउनेछन् भन्ने आशाका साथ प्रधानमन्त्रीले बोलाएको बैठकमा जाँदै छु ।’
सभामुखले बोलाएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका मुख्य सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राप्रपाका सचेतकलगायतको उपस्थिति थियो ।






