२०८१ बैशाख २७

धेरैको रोजाइमा पर्ने काठमाडौंका ७ केक शप




काठमाडौं । जन्मदिनमा मात्र होइन, आजभोलि विवाह, एनिभर्सरी, बेबी सावरलगायत हरेक शुभकार्यमा केक काट्ने चलन छ । घरघरमा केक काट्ने संस्कृति फेसनकै रुपमा विकसित भइरहेको छ । बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ ।

केकको लागि धेरै नयाँ नयाँ बेकरी शपहरु खुलेका छन् । यी धेरै बेकरी सपमध्ये केही लोकप्रिय बेकरी तथा केक सपलाई हामीले समेटेका छौं ।


Advertisement


कृष्ण पाउरोटी भण्डार

केक तथा बेकरी उत्पादनका लागि धेरैको रोजाइमा पर्छ कृष्ण पाउरोटी भण्डार । जुन ७५ वर्षअघि कृष्णबहादुर राजकर्णिकारले काठमाडौं कमलपोखरीमा खोलेका थिए । अहिले सोही स्थानमा मुख्य पसल रहेको कृष्ण पाउरोटी भण्डारका उपत्यकामा खुमलटार, हात्तीवन र महालक्ष्मीमा पनि आउटलेट छन् ।

अहिले पनि जन्मदिन होस् वा अन्य विशेष अवसरमा कृष्ण पाउरोटीको केक रोज्ने धेरै छन् । यहाँ एक पाउन्ड केकको मूल्य ७०० रुपैयाँबाट सुरु हुन्छ । कृष्ण पाउरोटी भण्डारबाट केक अनलाइन अर्डर पनि सकिन्छ ।



केक प्यालेस

मीठो र रसिलो केकको लागि केक प्यालेसलाई पनि रोज्न सकिन्छ । कपन एकता बस्ती, मिलन चोक,  जोरपाटी बेंसीगाउँ, नयाँबस्ती र नामखेलमा गरी पाँचवटा शाखा रहेको केक प्यालेसले होम डेलिभरी सेवा पनि दिने गरेको छ ।

ताजा र रसिलो केक यहाँको विशेषता हो । केक प्यालेसमा एक पाउन्ड केकको ५०० देखि १२ सय रुपैयाँसम्म पर्छ । केकको डिजाइन र आकारले मूल्य घटबढ हुन सक्छ ।

केक प्यालेसमा हरेक दिन बेलुका ७ बजेपछि हरेक पेस्ट्रीमा ४० प्रतिशत छुट हुन्छ भने विभिन्न अवसरमा छुटको पनि व्यवस्था हुन्छ ।

केक कोसेली

बानेश्वर थापा गाउँमा रहेको केक कोसेली पनि धेरैको रोजाइमा पर्छ । कस्टुमाइज केक अर्डरको केहीबेरमा तयार पार्नु नै केक कोसेलीको विशेषता हो । केक कोसेलीमा एक पाउन्ड केकको ६०० देखि १२ सय रुपैयाँसम्म पर्छ । केकको आकार र डिजाइनअनुसार मूल्य फरक पर्छ ।

केक कोसेलीले हरेक महिना केही न केही नयाँ अफर ल्याइरहेको हुन्छ । कहिले केकमा छुटको व्यवस्था र कहिले केक किन्दा उपहारको व्यवस्था । आउँदै गरेको बुबाको मुख हेर्ने दिनको लागि विशेष अफर ल्याउने योजना बनाइरहेको केक कोसेलीमा होम डेलिभरीको पनि व्यवस्था छ ।

केकमाण्डु

कोटेश्वर र पेप्सीकोलामा गरी दुईवटा आउटलेट रहेको  केकमाण्डुलाई पनि मीठो केकको लागि रोज्न सकिन्छ । फाइभ स्टार होटलका बेकरी सेफले सञ्चालन गरेको केकमाण्डुको विशेषता भनेको गुणस्तरीय सामग्रीको प्रयोग गरेर फ्रेस केक तयार पारिन्छ ।

६५० रुपैयाँदेखि केक पाइने केकमाण्डुमा कस्टुमाइज र थ्रिडी केकको मूल्य भने फरक पर्छ । रिङरोडभित्र फ्री होम डेलिभरीको व्यवस्था रहेको केकमान्डुले छिट्टै हेटौंडामा पनि शाखा खोल्दैछ । रक्षा बन्धन, नयाँ वर्ष लगायत विशेष अवसरमा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था पनि केकमाण्डुले गर्दै आएको छ ।

ओहो केक

तीनकुने, आलोकनगरमा रहेको ओहो केक पनि अहिले धेरैको रोजाइमा पर्छ । अर्डर गरेकै दिन केक तयार गरेर दिने यहाँ हरेक प्रकारको कस्टमाइज केक तयार हुन्छ । केकमा प्रयोग हुने सामाग्री गुणस्तरीय हुनुका साथै केकको फरक स्वाद यहाँको विशेषता हो ।

ओहोमा एक पाउन्ड केकको मूल्य ७०० रुपैयाँबाट सुरु हुन्छ । कस्टमाइजको मूल्य भने फरक पर्छ । यहाँ केक होम डेलिभरीको पनि व्यवस्था छ ।

युजी केक

कुनै विशेष अवसरको लागि केक चाहिएको छ भने युजी केकलाई पनि सम्झिन सकिन्छ । युजी केकबाट तपाईंले केक अर्डर गरेपछि केक कसरी बन्यो भन्ने कुरा पनि थाहा पाउनुहुन्छ । युजी केकको एपमार्फत केक बन्न सुरु भएदेखि डेलिभरी हुने बेलासम्म के के भयो भन्ने थाहा पाइन्छ ।

युजी केकमा ‘केक इन कप’ कप केक पाइन्छ, जसको एक सय रुपैयाँ पर्छ भने पाउन्ड केकको भने ९००  रुपैयाँबाट सुरु हुन्छ । दैनिक १०० पाउन्ड केक बिक्री हुने युजीमा होम डेलिभरीको पनि व्यवस्था छ । कुनै व्यक्तिले दोस्रो तेस्रो पटक युजी केकबाट केक अर्डर गरे विशेष छुट प्राप्त गर्छ । युजी केकको एप डाउनलोड गर्नेहरूले पनि २५ प्रतिशत छुट पाउँछन् ।

कल माइ केक

कोटेश्वरमा रहेको कल माई केक पनि केक किन्नु राम्रो विकल्प हो । केकमा प्रयोग हुने गुणस्तरीय सामग्री र राम्रो कस्टमर सर्भिस नै यहाँको विशेषता हो । यहाँ एक पाउन्ड केकको ६०० रुपैयाँदेखि एक हजार रुपैयाँ पर्छ । केकको डिजाइन र अकारअनुसार मूल्य फरक पर्छ ।

सामान्यतया दैनिक ३० पाउन्ड केक बिक्री हुने कल माइ केकमा विशेष चाडबाडमा छुटको व्यवस्था पनि व्यवस्था छ । युजी केकमा होम डेलिभरीको पनि व्यवस्था छ ।

Copy link
Powered by Social Snap