२०८१ बैशाख २१

मेसीको आगमनयता इन्टर मियामीको शतप्रतिशत जित

पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश




काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले लगातार छैटौँ खेलमा गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा फिलाडेल्फियाविरुद्ध ४–१ को सहज जित निकाल्दै मियामी क्लब इतिहासमा पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश गरेको हो ।


Advertisement


इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनल मेसी, जोर्डी अल्बा र डेविड रुइजले गोल गरे । खेलको तेस्रो मिनेटमा नै मार्टिनेजले गरेको गोलबाट मियामीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा कप्तान मेसीको गोलबाट मियामीले अग्रता दोब्बर बनाएको थियो । मैदानको मध्य भागबाट बल अघि बढाएका मेसीले १८ यार्ड बक्सभन्दा बाहिरबाट गरेको लामो प्रहार गोल भएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गरेपछि मियामीले ३–० को सहज अग्रता बनाएको थियो ।



फिलाडेफियाका लागि ७३औँ मिनेटमा एलेजान्ड्रो बेडियाले गोल गर्दै मियामीको अग्रतालाई ३–१ मा झारेका थिए । तर, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा रुइजले गोल गरेपछि मियामीले ४–१ को जितसहित फाइनल यात्रा तय गर्यो ।

जितसँगै मियामी पहिलोपटक उत्तर अमेरिकी शीर्ष क्लब प्रतियोगिता कोन्काकाफ च्याम्पियन्स लिगमा छनोट भएको छ । गएको समर ट्रान्सफर विन्डोमा मेसीलाई भित्र्याययता मियामीले शतप्रतिशत जित निकालेको छ ।

मियामीले अब उपाधिका लागि नास्भिलेसँग खेल्नेछ ।

Copy link
Powered by Social Snap