२०८१ जेष्ठ ४

एमडीएमएसमा फोन दर्ता गर्न ६७ हजारले दिए निवेदन




काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा कागजात देखाएर विदेशबाट ल्याएको फोनको आईएमईआई नम्बर दर्ता गर्न करिब ६७ हजारले आवेदन दिएका छन् ।


Advertisement


प्राधिकरणको सोमबारसम्मको तथ्यांकअनुसार विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटको आईएमईआई नम्बर दर्ता गर्न यतिको संख्यामा मानिसहरूले आवेदन दिएको हो ।

विदेशबाट आएका व्यक्तिले आफ्नो पासपोर्टको विवरण, कुन देशबाट नेपाल फर्केको भन्नेलगायत अराइभल विवरण राखेपछि फोनको आईएमईआई नम्बर दर्ता हुन्छ ।

हालसम्म करिब ६७ हजार आवेदकमध्ये करिब ४८ हजारको फोनको आईएमईआई नम्बर दर्ता भइसकेको र करिब १८ हजारको चाहीँ कागजात नमिल्दा दर्ता भइनसकेको प्राधिकरणले जनाएको छ ।



एक करोड नाघ्यो दर्ता नभएको आईएमईआई नम्बर
प्राधिकरणले एमडीएमएसमा दर्ता नभएको आईएमईआई संख्या एक करोड नाघेको बताएको छ ।

धेरैजसो एउटै फोनमा दुईवटा आईएमईआई नम्बर हुने भएका कारण झन्डै ५० लाखभन्दा बढी फोन आईएमईआई नम्बर दर्ता नभएका फोन सञ्चालनमा रहेको प्राधिकरणको भनाइ छ ।

गत जेठ १ गतेदेखि प्राधिकरणले सञ्चालनमा ल्याएको एमडीएमएस जेठ १५ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आएको थियो ।

त्यसयता सञ्चालनमा आएका आईएमईआई नम्बर दर्ता नभएका फोन असार मसान्तसम्म भन्सार शुल्क तिरेर दर्ता गर्न प्राधिकरणले आग्रह गरेको थियो ।

असार मसान्तपछि भने फोन दर्ता गर्न सकिने मिति लम्ब्याइएको छैन । असार मसान्तसम्म करिब दुई हजार फोन मात्रै शुल्क तिरेर दर्ता भएको प्राधिकरणले जनाएको छ ।

भन्सार विभागको समन्वयमा आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूको आईएमईआई नम्बर दर्ता गर्न प्रतिसेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रतिफोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका बारफोनका लागि प्रतिसेट २०० रुपैयाँ तोकिएको थियो ।

Copy link
Powered by Social Snap