२०८१ बैशाख १५

बागलुङका एसपी चौधरी हटाइए, रौतहटको गरुडामा नयाँ डिएसपी

साभार: रातोपाटी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकार र जनप्रतिनिधीसँग समन्वय गर्न नसकेको  भन्दै चौधरीलाई जिम्मेवारी मुक्त गरिएको हो । ‘कमाण्ड कन्ट्रोल राम्रो देखिएन, त्यसैले जिम्मेवारी मुक्त गरिएको हो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले रातोपाटीसँग भने ।

बागलुङको कमाण्ड समालेका एसपी श्रेष्ठ पनि विवादित छविका हुन् । विवादमा मुछिएपछि उनलाई यसअघि मकवानपुरको इन्चार्जबाट हटाइएको थियो ।


Advertisement


प्रहरी प्रधान कार्यालयले रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा नयाँ इन्चार्ज पठाएको छ । प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावललाई गरुडामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि गरुडामा सरुवा भएका डिएसपी नरेन्द्र कुँवरले स्वास्थ्य समस्या देखाएर हाजिर हुन इन्कार गरेका छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय राम चमारको मृत्युपछि त्यहाँ कार्यरत डिएसपी ज्ञानकुमार महतोलााई जिम्मेवारीबाट हटाइएको थियो ।

गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या अभियोगमा प्रहरीले विजयलाई साउन ३२ मा पक्रेको थियो । विजयको मृत्युबारे गृह मन्त्रालय र प्रदेश–२ प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।

Copy link
Powered by Social Snap