२०८१ बैशाख १४

निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका




सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि स्थानीय बालबालिका उत्साहित छन् । लघुवित्त भन्नै सुन्नै बित्तिकै ऋण दिने/लिने संस्था हो धारणा गाउँमा व्याप्त छ ।


Advertisement


दूरदराजका गाउँमा बसेका विपन्न वर्गका नागरिकहरुलाई उद्यमशील बनाउन यस्तो लघुवित्तको परिकल्पना गरिएको हो । लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गर्नाका साथै समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् । सोही कडीका रुपमा निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा (ट्युसन) पढ्न नपाएर विद्यालय जान रुचि नगर्ने मुसहर बस्तीका बालबालिकाहरु जीवन विकास लघुवित्त लहान–२३ गढिया शखाद्वारा सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा पढ्न अहिले उत्साहित हुँदैछन् । सो केन्द्रमा ३१ बालबालिकाले अध्ययन गरिरहेका छन् । उक्त संस्थाले बालबालिकाका लागि शैक्षिक तथा स्टेसनरी सामग्री र सहजकर्तालाई मासिक भत्ता उपलब्ध गराएको गढिया शखाप्रमुख बिमल सिंहले बताउनुभयो ।



“विद्यालयबाहिर रहेका र नाम लेखाएर पनि स्कुल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीका साथै पठनपाठनका लागि सहयोगका अतिरिक्त ‘होम ट्युसन’ सञ्चालन गरिएपछि उनीहरु नियमित विद्यालय जान थालेको सहजकर्ता रेखाकुमारी सदाले बताउनुभयो । उहाँले विद्यालयमा दिवा खाजा कार्यक्रम, छात्रवृत्ति, खेलकुदजस्ता क्रियाकलापले गर्दा दलित बालबालिकामा पनि विद्यालयप्रति आकर्षण बढेको छ भन्नुभयो । शाखाप्रमुख सिंहले मुसहर समुदायमा चेतनाको कमी भए पनि पढ्नुपर्छ भन्ने धारणको विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

जीविकोपार्जनका लागि सहयोग गर्दै आएको लघुवित्तले निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएपछि अहिले विपन्न दलित बस्तीका बालबालिका नियमित विद्यालय जान थालेको सदस्य संसारी सदाले बताउनुभयो । यस कार्यक्रमबाट दलित बस्तीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको स्थानीय दिलचन्द सदाले उल्लेख गर्नुभयो । उहाँले पढाइप्रतिको लगाव र विद्यालय नियमित आउन थालेपछि आफूहरु उत्साही भएको जानकारी दिनुभयो । पोरतहा आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत दिलखुसकुमार सदाले ट्युसन पढ्ने वातावरण मिलेपछि रमाइलो मानेर सधैँ विद्यालय जान थलेको बताए ।

आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुचि नगर्ने टोलका सबै बालबालिका ट्युसन पढ्न पाएपछि विद्यालय जान थालेको कक्षा–४ मा अध्यनरत धिरज सदाले उल्लेख गरे । विद्यालयमा नाम लेखाए पनि नियमित नजाने रितेश घर नजिकै सञ्चालन भएको ‘होम ट्युसन’मा पढन थालेपछि विद्यालय पनि नियमित जान थालेको छु भने ।

विद्यालय सधैँ गए पनि घरमा पनि पढ्नुपर्छ भन्ने वातावरण थिएन तर ‘होम ट्युसन’ सञ्चालनमा आएपछि पूरै टोलभरिका सबैजना एकै ठाउँमा बसेर पढ्दै आएको पोरतहा आधारभूत विद्यालयमा कक्षा ५ कि रेखा सदाले बताइन् । जीवन विकास बाल शिक्षा अभियानअन्तर्गत सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा सरस्वती जीवन विकास केन्द्रमा आवद्ध सदस्यहरुको कक्षादेखि कक्षा ५ सम्मका बालबालिका २०७९ असोज १ गतेदेखि निरन्तर अध्ययन गरिरहेका छन् ।

Copy link
Powered by Social Snap