२०८१ बैशाख ७

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा




अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो ।

सङ्घका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेफ्टा अवार्ड जेठ १३ गते विधिवत्रूपमा सञ्चालन हुनेछ । अमेरिकामा आयोजना गरिनुको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्नु हो ।”


Advertisement


अवार्ड कार्यक्रमका लागि जुरीले २०७९ वैशाखदेखि चैत मसान्तसम्म रिलिज भएका चलचित्र हेर्ने काम सुरु भइसकेको उहाँले बताउनुभयो । चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष भुवन केसीले नेफ्टा अवार्ड कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउन सेतुको काम गर्नेमा सहमति जनाउनुभयो । उहाँले भन्नुभयो, “अमेरिकामा अवार्ड कार्यक्रम गर्नु फलामको चिउरा चपाउनुजस्तो हो । सङ्घले यो हिम्मत गरेको छ । नेपाली चलचित्रको दर्शक बढाउनका लागि यसले खेल्ने भूमिकामा बोर्डले सहयोग र सहकार्य गर्नेछ ।”



अध्यक्ष केसीले आयोजक समूहलाई शुभकामना दिँदै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ नेपाली चलचित्र क्षेत्रको विकासको बाधक भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रको अहिलेसम्म विकास हुन नसक्नु मुख्य कारण चलचित्र ऐन, २०२६ हो । एनालगबाट सुरु भएको चलचित्र डिजिटल प्रविधिको अभ्यासमा छ तर २०२६ सालमा बनेको ऐन अहिले व्यावहारिकरूपमा प्रभावकारी छैन ।”

अध्यक्ष लामाका अनुसार अमेरिकाको डल्लास टेक्सासमा छ हजार पाँच सय क्षमता भएको हलमा कार्यक्रम आयोजना हुनेछ । यसअघि ४२ विधामा दिइने अवार्ड यसपटक केही संशोधन हुने बताइएको छ । कार्यक्रममा नेपालीसँगै बलिउड र हलिउड चलचित्रका कलाकारको सहभागिता हुनेछ । अवार्ड कार्यक्रममा नेपालको सात प्रदेशको सांस्कृतिक झलक र झाँकी प्रदर्शनी हुने आयोजक समूहले जानकारी दिएको छ । उहाँले आवश्यकताअनुसार ५५ देखि ६० जना नेपाली समूह जाने जानकारी दिनुभयो ।

नेपाली दर्शक धेरै भएको देशमा अवार्ड कार्यक्रम गर्दै आएको अध्यक्ष लामाले बताउनुभयो । नेफ्टा अवार्ड कार्यक्रम यसअघि दुबई, हङकङ, कतार र युएईमा आयोजना गरिएको थियो ।
–––

Copy link
Powered by Social Snap