२०८१ बैशाख १३

‘छक्कापञ्जा ४’ नेपाल र विदेशी ठूला बजारमा सँगै, पहिलो भाग चीनमा रिलिज गर्ने तयारी




काठमाडौं । ‘छक्कापञ्जा ४’ नेपालसहित विश्वका ठूला बजारमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनबारे जानकारी गराएका हुन् । फागुन १९ गते (मार्च ३) यो फिल्म नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माता दीपकराज गिरीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रदर्शनबारे अनलाइनखबरसँग गिरीले भने, ‘सबैजसो ठूला फिल्म बजारमा रिलिज गर्नका लागि सम्बन्धित मुलुकमा चलचित्र जाँचपासको प्रक्रियामा काम भइरहेको छ । नियमित शोमै फिल्म प्रदर्शन हुनेछ ।’ छिमेकी मुलुक भारतमा रिलिजबारे टुंगो भइनसकेको उनले बताए ।


Advertisement


गिरीले सकेसम्म विश्वभर एकैदिन रिलिजको लागि प्रयत्न हुने बताए । छक्कापञ्जाको चौथो श्रृंखलालाई हेमराज बीसीले निर्देशन गरेका हुन् भने प्रमुख कलाकारमा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, मलिना जोशी, बेनिशा हमाललगायत छन् । सामाजिक र राजनीतिक कथावस्तुमा बनेको यो फिल्मको टिजरले वर्तमान नेपाली राजनीति र चुनावको प्रवृत्तिलाई व्यंग्य गरेको छ ।



यसैबीच, विश्वको ठूलो फिल्म बजारसमेत रहेको उत्तरी छिमेकी चीनमा भने ‘छक्कापञ्जा’को पहिलो श्रृंखलालाई रिलिज गर्ने तयारीमा निर्माता जुटेका छन् । यसका लागि चिनियाँ भाषामा डबिङ र सबटाइटल गर्नेसम्म प्रयास भइरहेको गिरीले जनाए ।

‘चिनियाँ टोलीले यसलाई मन्डारियन भाषामै प्रदर्शन गर्न चाहिरहेको छ । यसका लागि सबटाइटल र डबिङको योजना भइरहेको छ । जतिसक्दो चाँडो चीनमा पनि छक्कापञ्जा रिलिज हुनेछ,’ गिरीले भने ।

अन्य मुलुकभन्दा चीनमा फिल्म रिलिज प्रक्रिया झन्झटिलो मानिन्छ । चिनियाँ मन्डारियन भाषामै डबिङ र सबटाइटल गर्नुपर्नेदेखि सेन्सरमा पनि कडाइ हुन्छ । अर्कोतर्फ चीनले विदेशी फिल्म प्रदर्शनमा कोटा प्रणाली लागु गरेको छ, जसले त्यहाँ फिल्म रिलिज गर्न विश्वका फिल्म निर्माताबीच होड चल्छ । शून्य कोभिड नीति हटाएपछि चीन पछिल्लो समय विदेशी फिल्म प्रदर्शनमा लचिलो बनेको छ ।

Copy link
Powered by Social Snap