२०८१ बैशाख १४

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित




२३ माघ, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।


Advertisement


यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।



अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् ।

उनी एमालेमै रहँदा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् ।

Copy link
Powered by Social Snap