२०८० चैत्र १६

काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने




१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेको छ । सर्वेक्षणमार्फत नागरिकका स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र त्यसपश्चात उपचार तथा स्वस्थ्य जीवनयापनमा सहज हुने विश्वासका साथ सर्वेक्षणको तयारी गरिएको महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले बताए ।

‘शहरमा नसर्ने तर दीर्घ रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ, यस्ता बिरामीहरुले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ, यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गर्ने योजना हो’ उनले भने । स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाइ छ ।


Advertisement


सर्वेक्षणका लागि स्वास्थ्यसम्बन्धी कसलाई के समस्या छ, उपचार कहिलेबाट सुरु गरिएको हो ? कुन औषधि प्रयोग भइरहेको छ ? औषधि कति समयसम्म प्रयोग गर्नुपर्छ ? प्रयोगशाला जाँच कहिले भएको थियो ? अब कहिले गर्नुपर्छ ? क्लिनिकमा कहिले जानुपर्छ ? औषधि लिन कहिले जानु पर्छ ? घरमा भएको औषधिले कहिलेसम्म पुग्छ ? जस्ता प्रश्नावली तयार गरिएको उनले बताए ।



दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्ने उनले बताए ।

महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले प्रविधिसँग जोडेर आधारभूत तथ्यांक संकलनको योजना बनाएको बताए । महानगरका अनुसार स्वास्थ्य विभागको योजनालाई सूचना प्रविधि विभागले सहयोग गर्नेछ ।

आधारभूत स्वास्थ्य अवस्थाको सर्वेक्षणबाट अन्य कार्यक्रममा टेवा पुग्ने महानगरको दाबी छ । सबै सेवाका आधारभूत तथ्यांक एउटै हुने भएकोले सर्वेक्षणमा ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्ने महानगरको तयारी रहेको छ ।

Copy link
Powered by Social Snap