


प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण चाँडै नै टुंगिने बताएका छन्।
उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुंग्याउने बताए।
Advertisement


आइतबार झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुंगिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताए।
उनले प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै भने, ‘हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौं, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौं।’

उनका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको संख्या १३ बाट घटाएर नौ पुर्याइएको हो।
मुख्यमन्त्री कार्की थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको संख्यान नबढ्ने उल्लेख गरे। उनले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्ने सोचमा रहेको बताए।






