२०८१ बैशाख २३

गण्डकीका अर्थमन्त्रीले प्रस्तुत गरे प्रदेशको आर्थिक अवस्था




पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले राजस्व बढाउनुलाई उपलब्धिको रूपमा व्याख्या गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री बरालले राजस्व वृद्धिले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने बताएका हुन् ।


Advertisement


“यहाँहरूलाई स्मरण नै छ । हाम्रो यो प्रयासलाई विभिन्न रूपमा गलत मनसाय प्रेरित प्रचार पनि भए । यसका बाबजुद हामीले दृढतापूर्वक गरेको पहलकदमीले चालु आवको अन्त्यसम्म प्रदेश सरकारको राजस्वमा तुलनात्मक हिसाबले गुणात्मक वृद्धि हुने निश्चितप्राय छ । जसले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने नै छ,” उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

गण्डकीमा आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७, ०७७/०७८ र ०७८/०७९ मा क्रमश: दुई अर्ब ३७ करोड ९८ लाख, दुई अर्ब ४१ करोड ४ लाख, तीन अर्ब २१ करोड २३ लाख, तीन अर्ब ८० करोड ८५ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ ।




चालु आर्थिक वर्षमा भने सरकारले पाँच अर्ब ९ करोड १६ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । राजस्व बढाउनकै लागि सवारीदेखि घरजग्गा, मालपोत, अंशबन्डालगायतका शीर्षकमा कर वृद्धि गरिएको छ ।

पछिल्ला पाँच वर्षमा बढ्दो पुँजीगत खर्चलाई प्रस्तुत गर्दै मन्त्री बरालले यी उपलब्धि सुशासनउन्मुख रहेको दाबी गरे । उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म बजेट खर्च १५ प्रतिशत रहेको र आन्तरिक राजस्व २७ प्रतिशत संकलन भइसकेको छ । पाँच करोडभन्दा माथिका योजनाहरूलाई मात्रै बहुवर्षीय योजनामा लैजाने र पाँच करोडमुनिका योजनाको हकमा सम्बन्धित मन्त्रालयमा उपलब्ध हुने स्रोतको र प्राथमिकताको आधारमा गरिने व्यवस्था मिलाइएको उनले बताए ।

Copy link
Powered by Social Snap