२०८१ बैशाख ८

प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा, बिहानी अकुपेन्सी १० प्रतिशत




काठमाडौं । हरर थ्रिलर ड्रामा फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । २ घण्टा २१ मिनेट लामो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा लगायत कलाकार छन् ।

मण्र्य जेम्स र यश सैनी निर्देशित फिल्म हरर तथा थ्रीलर कथावस्तुमा रुचि राख्ने दर्शकलाई रुचिकर हुनसक्छ । नेपालका हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा कायम रहँदा ‘चि मुसी चि’ प्रदर्शनमा आएको हो ।


Advertisement


वास्तविक घटनामा आधारित कथावस्तुमा बनाइएको भनिएको फिल्मले अपार्टमेन्टमा बसोबास गर्ने एक दम्पतीको जीवनमा आउने अनौठा घटनालाई प्रस्तुत गर्छ । फिल्म रिलिजअघि निर्देशकले प्रिभ्यु सार्वजनिक गरेका छन्, जसमा यो फिल्मको कथावस्तुलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।

फिल्मको कथा एक घटनाबाट सुरु हुन्छ । काम गरेर जीवन चलाइरहेका एक दम्पती छन् जसको जीवनमा केही अनौठा घटना हुन्छन् । एकपछि अर्को गरी हुने दुर्भाग्यपूर्ण घटनामा अपार्टमेन्टमा बस्ने अन्य व्यक्ति पनि जोडिन आउँछन् । उनीहरु सबैले भयानक उपस्थितिको अनुभव गर्न थाल्छन् । पात्रले मनोवैज्ञानिक तनाव महसुस गर्छन् । फिल्ममा फरक–फरक व्यक्ति र परिदृश्य छन् । जीवनमा आउने नयाँ परिस्थितिलाई पात्रले कसरी सामना गर्छन् भन्ने कथावस्तु यसमा छ ।



बिहानको अकुपेन्सी १० प्रतिशत

‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’को देशव्यापी बिहानी अकुपेन्सी १० प्रतिशतभन्दा तल छ । चिसोका कारण बिहानी अकुपेन्सी प्रभावित हुने भए पनि मध्यान्ह र अपरान्हमा अकुपेन्सी वृद्धि हुनसक्छ । तर बिहानी अकुपेन्सीको ट्रेण्डले दिउँसोको व्यापारलाई निर्देशित गर्नेछ ।

एकल रिलिजको मौका पाएको फिल्मले वर्ड अफ माउथ बलियो भए राम्रो कमाइ गर्न सक्छ । तर सकारात्मक समीक्षा यसको पूर्वसर्त हो । गत साता रिलिज भएको ‘डिसेम्बर फल्स’ नचल्दा सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने चुनौती ‘चि मुसी चि’माथि छ ।

प्रियंका, ऋचा, बेनिशा, आयुष्मानजस्ता नाम चलेका कलाकारको कारणले पनि दर्शकलाई हलसम्म तान्न सक्ने अपेक्षा गरिएको छ । फिल्मले नेपालमा हरर जनराको ट्रेण्डलाई स्थापित गर्ने निर्माताको दाबी छ । सन् २०१८ मा ऋचा स्टारर हरर फिल्म ‘सुनकेशरी’ पनि रिलिज भएको थियो । त्यसपछि यो उनको दोस्रो हरर जनराको फिल्म हो । अघिल्लो फिल्मले मिश्रित समीक्षा प्राप्त गरेको थियो भने उक्त हरर फिल्म हेर्दा हाँसो उड्ने प्रतिक्रिया दर्शकले व्यक्त गरेका थिए ।

यतिबेला हलमा ‘अवतार २’ का साथै सर्कस र डिसेम्बर फल्स पनि प्रदर्शनरत् छन् ।

Copy link
Powered by Social Snap