२०८१ बैशाख १२

चलचित्र विकास बोर्डले दुबईमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने




काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । ‘नेपालीको उल्लेख्य उपस्थिति रहेको दुबईबाट हामीले अन्तर्राष्ट्रिय फेस्टिभलको थालनी गर्न लागेका छौं,’ उनले भने ।


Advertisement


नेपालबाट नजिक पनि भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई महोत्सवस्थलको रुपमा रोजिएको उनले बताए । पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरे ।

डेढ करोड खर्च हुने महोत्सवको व्यवस्थापन कर्पोरेसनले गर्ने सहमति जुटेको छ । यसअघि उसले जापानमा दुईपटक अवार्ड गरिसकेको छ । ‘सरकारी संस्थासँग मिलेर काम गर्न पाउँदा हामी उत्साहित छौं,’ लामिछानेले भने ।

महोत्सवमा भाग लिन ३५ जनाको टोली दुबई जाने भएको छ । फेस्टिभलमा अरबी भाषामा नेपाली फिल्म देखाउनेसँगै यूएईका व्यवसायी र फिल्म निर्मातासँग अन्तरक्रिया कार्यक्रम समेत हुने जनाइएको छ ।



नेपाललाई विदेशी फिल्म छायांकन केन्द्रको रुपमा स्थापना गर्नेदेखि नेपाली फिल्मलाई यूएईका हलमा नियमित प्रदर्शनको वातावरण बनाउन महोत्सव प्रभावकारी हुने आशा बोर्डले लिएको छ ।

यूएईपछि अन्य अन्तर्राष्ट्रिय फिल्म बजारमा महोत्सव आयोजनाको तयारी भइरहेको अध्यक्ष केसीले बताए । केही समयअघि आफूले अमेरिका, अष्ट्रेलिया र यूएईका राजदूतलाई भेटेर यसबारे जानकारी दिएको र उनीहरु पनि सहयोग गर्न तयार रहेको आश्वासन पाएको केसीले बताए ।

सरकार–सरकारबीच जीटूजी स्तरमा पनि कार्यक्रम गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको केसीले जनाए । वार्षिक कार्यक्रम अन्तर्गत रहेर सञ्चार मन्त्रालयको अनुमतिमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ ।

Copy link
Powered by Social Snap