२०८१ बैशाख १२

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई राप्रपाका नेता जबराले शपथ गराउने





काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपतिशमशेर जबराले शपथग्रहण गराउने भएका छन् ।



Advertisement



संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा यही पुस ७ गते दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ ।

प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई शपथग्रहण गराएपछि जबराले अरू सांसदहरूलाई शपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि पुस ६ गते कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए ।

“ऐन, कानुन र संविधानमा व्यवस्था भएअनुसार शपथ गरेर मात्रै संसदीय गतिविधिहरू गर्नुपर्ने हुन्छ । त्यसका लागि सर्वप्रथम ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपतिज्यूसँग शपथग्रहण गराउने कार्यक्रम छ,” प्रवक्ता पाण्डेले भने “त्यसपछि पुस ७ गते सबै माननीय सदस्यज्यूहरूलाई बानेश्वरको संसद् हलमा शपथग्रहण गराउने कार्यक्रम छ ।”



नागरिकताको प्रमाणपत्रको आधारमा जबरा ८१ वर्षका भए । सर्लाही क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुगेको भए पनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको बताउँदै आइरहेका छन् ।

उनी २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए । योपटक पनि उनी नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यका रूपमा शपथग्रहण गराउने कार्यक्रम तय गरिएको संसद् सचिवालयले स्पष्ट पारेको छ ।

गएको मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सांसदहरू निर्वाचित भएका छन् । सांसादहरूलाई शपथग्रहण गराएपछि मात्र संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था छ ।

Copy link
Powered by Social Snap