२०८१ बैशाख ८

‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी




काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र थियो भष्मे डन । यो चरित्रले बिपिन कार्कीलाई घरेलु फिल्ममा स्थापित गरिदियो । यो पात्रमाथि सयौ मिम र ट्रोल बने ।

नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ (कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्म) को रुपमा यो प्रोजेक्ट बन्ने भएको हो ।


Advertisement


निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनाल र अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने छन् । दीपेन्द्रले निर्देशन र खगेन्द्रले निर्माण गर्ने निधो भएको छ । पटकथा पनि खगेन्द्र स्वयमले लेखिरहेका छन् ।

भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाको चरित्रलाई पनि स्पिन-अफमा ल्याउने तयारी छ ।

‘पटकथाको पहिलो ड्राफ्ट लेखन सकिएको छ जुन पढ्दा मज्जा आयो । सेलिव्रेटेड क्यारेक्टरलाई दर्शकले रुचाउने लागेर हामीले फिल्म निर्माणलाई अघि बढाउन लागेका हौं’ निर्देशक खनालले अनलाइनखबरसँग भने, ‘पशुपतिप्रसादमा भष्मे डनको कथा जहाँनेर सकिएको थियो, त्यहाँदेखि उसको आगामी यात्राको कथा यसमा समेटिनेछ ।’



६ वर्षअघि प्रदर्शन भएको ‘पशुपतिप्रसाद’मा भष्मे डन पात्रले खराबदेखि सकारात्मक व्यवहारसम्मको यात्रा गरेको छ । उसमा आउने चरित्रको रुपान्तरणसँगै फिल्म सकिएको थियो । भष्मे डन फिल्ममा अब त्यो विन्दूदेखिको कथा सुरु हुनेछ ।

निर्देशक खनालले ‘भष्मे डन’ पशुपतिप्रसादको सिक्वेल वा प्रिक्वेल नभएको बताए । ‘यो विशुद्ध स्पिन–अफ हो’ उनले भने, ‘पशुपतिप्रसादको सिक्वेल बनाउनेतर्फ अहिले सोचेका छैनौं ।’ भष्मे डन छायांकन फागुनदेखि सुरु हुँदैछ । फिल्मको प्रदर्शन आगामी दशैमा हुने भएको छ ।

Copy link
Powered by Social Snap