२०८१ बैशाख १३

बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख




इख नभएको मान्छे र बिख नभएको सर्पले केही गर्न सक्दैन भन्ने नेपाली उखान वीरेन्द्रनगर, चौखेढुंगाका इमानसिं बस्नेतको जीवनमा ठ्याक्कै चरितार्थ भयो।

बिरामी हुँदा बिदा नपाएको झोँकमा जागिर छाडेर हिँडेका इमानसिंह स्वरोजगारीबाट हाल मासिक साढे एक लाख रुपैयाँ कमाइ गर्छन्।

उनले राष्ट्रिय स्तरको पुरस्कार पाएका छन्। प्रशिक्षक भएका छन्। मानसम्मान पाएका छन्।

इमानसिंको जीवनमा कसरी भयो त यस्तो फड्को? एकै छिन उनको विगततिर फर्कौ र वर्तमान हेरौँ।

इमानसिंका बुबा लोगबहादुर भारतीय सेनामा कार्यरत थिए। परिवारको लागि पर्याप्त खाना पुग्ने खेती थियो। इमानसिंलाई आफ्नो पढाइ अघि बढाउन आर्थिक समस्या थिएन।

२०५३ सालमा एसएसली परीक्षा उत्तीर्ण गरेका इमानसिंले २०५५ सालमा सुर्खेत बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे।


Advertisement


त्यो बेला गाउँका युवाहरू मोटो रकम कमाउने लोभमा वैदेशिक रोजगारीमा जाने लहड चलेको थियो। इमानसिं पनि यसकै पछि लागे। पढाइ छाडेर विदेश जाने भए।

उनी विदेश जाने तयारी गर्न काठमाडौं गए। त्यहाँ चार महिना होटल व्यवस्थापनको तालिम पनि लिए।

भिसा प्रक्रिया सुरु भयो। कतारमा होटल क्षेत्रमै काम गर्नेगरी सम्झौता पनि भयो।

कुन कारणले हो, भिसा प्रक्रिया लम्बियो। इमानसिंले काठमाडौंकै एक होटलमा काम थाले। उनले काठमाडौंमा रहेको ब्लुस्टार र पोखराको ब्लुबर्डमा समेत गरी १८ महिना काम गरे।

भिसा प्रक्रिया अन्तिम चरणमा पुग्यो तर उनले विदेश जाने योजना त्यागे।

यसो हुनुको खास कारण थियो होटलमा हुने कामको दबाब र चर्को खटनपटन।

‘होटलमा खटनपटन धेरै हुने, अलिकति गल्ती भयो भने बद्नाम हुने, जागिर जाने। बिदा पनि नपाइने,’ इमानसिंले भने, ‘आफ्नै देशमा त बिरामी हुँदासमेत बिदा पाइँदैन भने विदेशमा झन् के होला भन्ने लागेर विदेश जाने निर्णय त्यागेँ।’

होटलमै काम गर्दै थिए। एकपटक झाडापखालाले सतायो। उनले बिदा दिन आग्रह गरे तर पाएनन्।

‘मैले म्यानेजरलाई बिरामी भएँ, केही दिन बिदा चाहियो भनेँ। उनले बिदा दिन सकिँदैन, जागिर खान मन छैन भने नआऊ भने,’ त्यो क्षण स्मरण गर्दै इमानसिंले भने, ‘बिरामी हुँदा पनि बिदा नपाएपछि नरमाइलो लाग्यो। यति मिहिनेत गरेँ भने त घरै बसेर पनि कमाउन सक्छु जस्तो लाग्यो।’

उनी काममा गएनन्। आराम गरेर बसे। सातौँ दिन होटलमा पुगेर राजीनामा बुझाए। आफ्नो नाममा जम्मा भएको रकम निकालेर घर फर्के।

इमानसिं घर त फर्के तर के काम गर्ने भन्ने टुंगो थिएन। थोरैतिनो नै सही, पैसा त कमाउनै पर्ने थियो। होटल छाड्नु परेको चोट थियो।

परिवारिक सल्लाहमा उनले मिल चलाउन सुरु गरे। एक जना मिस्त्री राखे। बुबा भारतीय सेनाको जागिरबाट निवृत्त भइसकेका थिए। मिल चलाउन बुबाले पनि मद्दत गरे।

इमानसिंले मिलसँगै तरकारी खेती सुरु गरे। सिजनको तरकारी खेतीबाट निकै राम्रो भयो। उनका अनुसार त्यति बेलै तरकारीबाट दैनिक १५ हजार रुपैयाँसम्म कारोबार हुन्थ्यो।

उनको कृषियात्रा बिस्तारै च्याउतर्फ मोडियो। घरमै च्याउखेती सुरु गरे। खेती फस्टाउँदै गयो। अहिले औसतमा मासिक साढे एक लाख रुपैयाँ आम्दानी गर्छन्।

‘अहिले त एकै दिनमा ६० हजारसम्मको पनि कारोबार हुन्छ,’ उनले भने, ‘कर्मचारीको तलब र अन्य खर्च कटाएर औसतमा मासिक डेढ लाख रुपैयाँ खुद आम्दानी हुन्छ।’

उनी दुई वर्षअघिसम्म खास सिजनमा मात्र च्याउ उत्पादन गर्थे। अहिले बाह्रै महिना उत्पादन गर्छन्।

इमानसिंले च्याउ खेती सुरु गरेको १४ वर्ष भयो। अहिले उनी ४७ वर्षका भए।

कृषि विकास कार्यालयबाट २०६५ सालमा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत पाएको ४० हजार रुपैयाँ अनुदानमा त्यति नै पैसा थपेर व्यावसायिकरूपमा च्याउखेती सुरु गरेका थिए।

त्यो समय वीरेन्द्रनगरमा च्याउखेती गर्ने उनी नै पहिलो व्यक्ति थिए।

तरकारी खेतीबाट अगुवा कृषकहरूको सूचीमा परेकाले उनले अनुदान पाएका थिए।

‘त्यतिबेला वीरेन्द्रनगरमा व्यावसायिकरूपमा च्याउखेती सुरु गर्ने ममात्रै थिएँ। धेरै जसो मानिस च्याउ खान मान्दैनथे। बेच्न निकै गाह्रो थियो,’ उनले भने, ‘अहिले मेरो सबै उत्पादन वीरेन्द्रनगरमै खपत हुन्छ।’

इमानसिंले हाल छ वटा टनेलमा च्याउखेतीका गरेका छन्। प्रत्येक टनेलमा च्याउ उमार्ने एक हजार पोका (बल) अटाउँछन्।

उनको च्याउखेतीमा १० जनाले रोजगारी पाएका छन्। यीमध्ये दुई जनाले मासिक तलब पाउँछन्। आठ जना दैनिक ज्यालादारीमा काम गर्छन्।

इमानसिंह मोटरसाइकलमा च्याउको भारी राखेर आफैँ बजार पुग्थे। पुर्‍याउनुपर्ने ठाउँमा पुर्‍याएर फर्किन्थे। आजकाल ठेक्कामा दिएका छन्।



उनका अनुसार ८० हजार रुपैयाँ लगानी गरेर सुरु गरेको च्याउ खेतीको लगानी अहिले ६५ लाख रुपैयाँ पुगेको छ।

इमानसिंको च्याउ खेतीले तीन कट्ठा जग्गा ओगटेको छ। चार कट्ठामा धान लगाउँछन्। जग्गा आफ्नै हो।

च्याउ उमार्न पराल चाहिने भएकाले धान लगाउने गरेको उनले बताए। परालकै लागि अधियामा पनि धान लगाउने गरेका छन्। नपुग पराल किन्छन्।

उनका अनुसार एक हजार पोका बल बनाउन एक ट्याक्टर पराल चाहिन्छ।

‘यो सिजनमा मात्र सात लाख रुपैयाँको पराल किनेको छु। अझै थप्नुपर्छ,’ उनले भने, ‘यहाँ वरपर पाए जति सबै पराल किन्ने गरेको छु।’

इमानसिंले च्याउखेतीबाट दुई पटक उत्कृष्ट कृषक पुरस्कार पाएका छन्। पहिलो पटक नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अर्को पटक कर्णाली प्रदेश सरकारले उनलाई पुरस्कृत गरेका हुन्।

च्याउखेती सुरु गर्दा उनले कुनै पनि तालिम लिएका थिएनन्। देखेका भरमा गरेका थिए। पछि तालिममा पनि सहभागी भए। अहिले आफैं प्रशिक्षक भएका छन्।

उनले भने, ‘काम गर्न थालेपछि तालिम लिने अवसर जु¥यो। संस्थाहरूले दिएका तालिममा सहभागी भएँ। अहिले आफैँ प्रशिक्षक भएको छु।’

उनले दृष्टिविहीनहरूलाई पनि च्याउखेतीको तालिम दिएका छन्। भन्छन्, ‘कृषिसँग सम्बन्धित संस्थाहरूले प्रशिक्षक बन्न बोलाउँछन्। कहिलेकाहीँ नेपाली सेनाले पनि बोलाउँछ।’

इमानसिंह हाल प्रत्येक महिना च्याउ लगाउँछन्। यसो भएपछि थोक तथा खुद्रा सबै ग्राहकले हरेक दिन च्याउ पाउँछन्। पहिले फोन गरेरमात्रे आउने ग्राहकहरू अहिले सिधै आउने गरेको उनले बताए। ढुक्क भएपछि सरासर आउने गरेका छन्।

उनका अनुसार एकपटक च्याउ रोपेको पोको तीन महिना टिक्यो भने पाँच पटकसम्म टिप्न मिल्छ। अहिले औसतमा दैनिक ५० किलो च्याउ उत्पादन हुने गरेको छ। एक वर्षअघि दैनिक औसत ३५ किलो उत्पादन हुन्थ्यो।  

आफू कृषि पेसामा रमाएको र सन्तुष्ट रहेको इमानसिंको भनाइ छ। बाबु भारतीय सेनामा भए पनि घरको मुख्य पेसा कृषि नै भएकाले आफू पनि त्यसमै लागेको उनले बताए।

व्यवसाय चलाउन उनले ‘दुर्गा पशु कृषि तथा च्याउ फार्म’ दर्ता गराएका छन्।

इमानसिंले प्रेरणादायक काम गरेको उनका छिमेकी जयबहादुर बस्नेतले भनाइ छ। जयबहादुरले पनि भैँसीपालन गरेका छन्।

‘मेरो पनि आफ्नै भैँसी फर्म छ। मेरो धेरै जग्गा छैन। फर्ममा एक्लै काम गर्छु,’ उनले भने, ‘नजिकै उहाँ (इमानसिं) को च्याउखेती छ। उहाँले आँट गरेर काम गर्नुभयो। अहिले धेरै राम्रो गर्नुभएको छ।’

इमानसिंका तीन छोराछोरी छन्। जेठो छोरोले होटल व्यवस्थापनमा स्तानक तह पूरा गरेका छन्। छोरी कृषि विषय पढ्दैछिन्। अर्का छोरा छोरा व्यवस्थापन विषयका विद्यार्थी हुन्।

व्यवसायमा सधैँ नाफा हुन्छ भन्ने छैन। अझ च्या खेतीमा त झन बढी जोखिम छ।

कुनै एक वर्ष चार हजार पोकामा एकै पटक हरियो ढुसी लाग्यो। सबै च्याउ नष्ट भयो। यसबाट पाँच लाख रुपैयाँ गुमेको इमानसिंले बताए।

उनका अनुसार कामका लागि दक्ष जनशक्ति नपाउनु, पराल उसिन्न दाउरा अभाव हुनु, च्याउमा हरियो ढुसी लाग्नु मुख्य समस्या हुन्।

बाह्रै महिना च्याउखेती गर्दा अनुकुल वातावरण बनाउनु प्रमुख चुनौती रहेको उनले बताए।

इमानसिंको व्यवसायमा बुबा लोगबहादुर पनि सन्तुष्ट छन्। लोगबहादुर छोरालाई पनि सेनामै पठाउन चाहन्थे रे, छोराको मिहिनेत देखेर अहिले खुसी छन्।

‘मैले जागिर खाएको हुनाले छोरालाई पनि सेनामा भर्ती हुन सजिलो हुन्थ्यो। उसले खेती गर्छु भनेर ढिपी गर्‍यो,’ उनले भने, ‘उसको खुसीले गरोस् भनेर सहयोग गरें। सुरुमा निकै खर्च भयो। अहिले आम्दानी राम्रो छ।’

Story coverage credit: Setopati

Copy link
Powered by Social Snap