२०८३ कार्तिक १२

जग्गाको लागतबाहेक ९० करोड लगानीमा यस्तो बन्दैछ ‘आभाष कोलोनी’




सिडी इन्नोभेटिभ डिजाइन एन्ड कन्स्ट्रक्सनले काठमाडौं, टोखा–२ पञ्चेटारमा कोलोनी बनाउने भएको छ।

करिब ४५ रोपनी क्षेत्रफलमा फैलिने ‘आभाष’ कोलोनीमा ८० देखि ९० वटा घरहरू बन्ने छन्। कोलोनी निर्माणमा जमिनबाहेक ९० करोड रूपैयाँ लगानी लाग्ने अनुमान कम्पनीको छ।

कम्पनीले अहिले जग्गा सम्याउने काम सकिसकेको छ। पुस दोस्रो सातादेखि निर्माण सुरू गरिने कम्पनीका अध्यक्ष दीपक कुँवरले जानकारी दिए।

कुँवरका अनुसार साढे दुईदेखि तीन वर्षमा कोलोनी निर्माण सम्पन्न हुनेछ। कोलोनीमा बन्ने एउटा घरको मूल्य तीन करोड ५० लाख रूपैयाँ तोकिएको छ।


Advertisement


सुरूआती चरणमा बुकिङ गर्ने बीस जना ग्राहकले यो मूल्यमा ५० लाख रूपैयाँ छुट पाउने कुँवरले जानकारी दिए। तर ती ग्राहकले आठ महिनाभित्र पूरा पैसा तिरिसक्नु पर्नेछ।

‘छुट दिँदा हामीलाई खासै फाइदा छैन। अहिले बैंकले घरजग्गा कर्जामा कडाइ गरेको हुँदा निर्माणमा सहज होस् भनेर हामीले यो सुविधा दिएका हौं,’ उनले भने।

अहिले करिब १२ वटा घर बुकिङ भइसकेको उनले जानकारी दिए।

कोलोनीभित्र बन्ने सबै घर नियो-क्लासिकल शैलीका हुनेछन्। प्रत्येक घर पौने पाँच आनामा बन्ने छ। काठमाडौं उपत्यकाका अधिकांश स्थानमा पानीको समस्या छ। त्यसलाई मध्यनजर गर्दै कम्पनीले कोलोनीमा बोरिङ व्यवस्था गरेको छ। साथै ढल निकासको पनि राम्रो व्यवस्था रहेको कम्पनीको भनाइ छ। कोलोनीको  एक घरलाई एउटा गाडी पार्किङको सुविधा हुनेछ।

साढे दुईतले घरको भुइँतलामा लिभिङ, किचन, डाइनिङ, गेस्ट र स्टोर रूम डिजाइन गरिएको छ। त्यस्तै पहिलो तलामा मास्टर बेडरूम र अरू बेडरूम हुने छन्। सबै बेडरूममा अट्याच बाथरूम हुनेछ।

माथिल्लो तलामा एउटा बेडरूम, लन्ड्री रूम, बाथरूम र पूजा कोठा हुनेछ।

यो कोलोनी ओपन-बाउन्ड्रीको अवधारणामा बन्ने छ अर्थात् मुख्य गेटबाहेक अरू घरका निजी गेट हुँदैनन्। कुनै घर पर्खालले घेरिएको हुँदैन। घरको अगाडि पट्टी खुला ठाउँ हुनेछ। त्यहाँ बैंगैचा, जिम हल, मिटिङ हल, पार्किङ लगायत सुविधा हुने कुँवरले बताए।

‘प्रत्येक घरमा गेट राख्दा हरियाली छेकिन्छ,’ कुँवरले भने, ‘त्यसैले ओपन बाउन्ड्रीको अवधारणामा बनाउन लागिएको हो।’



कोलोनीमा गुणस्तरीय निर्माण सामग्री प्रयोग गरिने पनि उनको दाबी छ। नेपालीहरूको आस्था र विश्वासलाई ध्यानमा राख्दै कम्पनीले वास्तुशास्त्रलाई पनि ध्यान दिएर घर निर्माण गर्ने बताएको छ।

उपत्यका विकास प्राधिकरणको मापदण्डअनुसार निर्माण गरिने भएकाले ग्राहकले प्राकृतिक विपत् (भूकम्प) को डर मान्नु नपर्ने कुँवर बताउँछन्।

शिक्षा, स्वास्थ्य, यातायात तथा बैंकिङ सेवाको राम्रो सुविधा भएकाले यो क्षेत्र ग्राहकको रोजाइमा पर्ने कम्पनीको विश्वास छ।

रियल-स्टेट परियोजना विकासका लागि सन् २०१५ मा सिडी इन्नोभेटिभ कम्पनी स्थापना गरिएको हो। यो कम्पनीले ‘आकृति’ कोलोनी निर्माण गरिसकेको छ। कम्पनी आकृति कोलोनीको बुकिङ खुला गर्ने चरणमा छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap