२०८० चैत्र १५

उच्च रक्तचापको औषधि आफूखुसी छाडे के हुन्छ ? – Dr. Rajendra Koju




उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभरि छाड्न मिल्दैन भन्ने चिन्ताले धेरै व्यक्ति उच्च रक्तचापको समस्या भए पनि औषधि सेवन गर्न भने डराउँछन् । तर केहीले औषधि सुरु गरेपछि पनि छाडेको उदाहरण भएको डाक्टरहरू बताउँछन् ।

यस्तोमा उच्च रक्तचापको औषधि कुन कुन स्थितिमा छाड्न मिल्छ ? उच्च रक्तचाप नियन्त्रण भएपछि आफूखुसी छाड्न सक्छन् वा चिकित्सकको परामर्श अनिवार्य हुन्छ ?


Advertisement


खासमा यो औषधिले के काम गर्छ ?

उच्च रक्तचापको औषधिले रक्तचापलाई घटाउँछ । कुनै औषधिले मुटुबाट निस्कने प्रेसरलाई कम गरिदिन्छ । कुनैले रक्त प्रवाह राम्ररी गर्नको रक्त नलीलाई लचिलो बनाइदिन्छ जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ ।

आजीवन खानैपर्छ ?

औषधिको सेवनले नै उच्च रक्तचापको नियन्त्रण गरिरहेको हो भने औषधि छोड्ने बित्तिकै रक्तचाप बढ्छ र स्वास्थ्यमा थप नराम्रो असर गर्न सक्छ । मस्तिष्कघात, हृदयघात, मिर्गौला फेल र रक्त नली फुट्ने जस्ता समस्या देखिन्छ । त्यसैले रक्तचाप नियन्त्रणमा राख्न आजीवन औषधि खानुपर्छ ।

रक्तचापका अनेक कारण

उच्च रक्तचापका बिरामीमध्ये ९० प्रतिशतमा यही कारण रक्तचाप बढेको हो भन्ने हुँदैन, विभिन्न कारणले भएको हुन्छ । १० प्रतिशतमा अन्य रोगको कारण पनि रक्तचाप बढेको हुन सक्छ ।

जीवनशैली परिवर्तन उच्च रक्तचापको कारणमध्येको एक प्रमुख कारण हो । खराब खानपान, व्यायाम नगर्ने, मोटोपनको समस्या तनाव आदिले उच्च रक्तचाप बढेको पाइन्छ ।

रक्तचाप नियन्त्रण नभए के गर्ने ?

मानौं कोही व्यक्तिको रक्तचाप बढेर १४०/९० पुगेको छ । मोटोपनको कारणले रक्तचाप बढेको हो भने जीवनशैली परिवर्तन गरेर नै नियन्त्रण गर्न सकिन्छ । जीवनशैली परिवर्तन गर्दा पनि घटेन भने मात्र औषधि सेवन गर्नुपर्छ । उच्च रक्तचाप नियन्त्रण नै नभएको कारणले औषधि सेवन गर्नुपर्ने व्यक्तिले औषधि छाड्न मिल्दैन ।

तर कसैकसैमा तनावका कारण पनि रक्तचाप बढ्ने हुनाले यसलाई नियन्त्रण गरे रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसपछि रक्तचाप घटबढको अवस्थालाई मूल्यांकन गरेर औषधि घटाउने वा छाड्न सकिन्छ ।

अन्य स्वास्थ्य समस्याले गर्दा रक्तचाप बढेको  हो भने त्यो समस्यालाई उपचार गरेर निको पारेपछि उच्च रक्तचापको औषधि छोड्न मिल्ने पनि हुन सक्छ । कोही व्यक्तिमा घुर्ने समस्याका कारण उच्च रक्तचाप बढेको छ भने त्यो घुर्ने समस्यालाई निको पार्न सकियो भने उच्च रक्तचाप पनि नियन्त्रण हुन्छ ।



कसैलाई मिर्गौलामा समस्या भएर रक्तचाप बढेको छ र त्यो समस्यालाई निको पार्न सकियो भने रक्तचापको औषधि छुटाउन सकिन्छ ।

रक्तनली नै साँघुरो भएर रक्तचाप बढेको छ भने त्यसको उपचार गरेर पनि रक्तचाप नियन्त्रण हुन्छ । त्यस्तै जीवनशैली, खानपानको कारणले रक्तचाप बढेको छ भने जीवनशैली र खानपानमा सुधार गरेर पनि नियन्त्रण गर्न सकिन्छ ।

चिकित्सकको परामर्श जरुरी

उच्च रक्तचापको औषधि आफूखुसी त छोड्न हुँदै हुँदैन । चिकित्सकको परामर्श त अनिवार्य नै हो । माथि उल्लेख गरिएका कारण जस्तै तनाव, घुर्ने समस्या र मिर्गौलामा समस्या भएको लगायतको कारणमा पनि चिकित्सकले परीक्षण गरेर कारण पत्ता लगाएर त्यो कारण उपचार गरेर रक्तचाप नियन्त्रण भयो भने मात्र छोड्न मिल्ने हो ।

चिकित्सकको परामर्श लिएर मात्र औषधि घटाउन, बढाउन वा छाड्न मिल्छ । आफूखुसी छोड्नु हुँदैन आफूखुसी औषधि छाड्दा स्ट्रोक, प्यारालाइसिस र हृदयघात भएको धेरै केस छन् । त्यही कारण प्रेसरको औषधि छाड्न चिकित्सकको परामर्श अनिवार्य हुन्छ ।

एक्कासि औषधि छाड्न मिल्दैन

जीवनशैलीकै कारण उच्च रक्तचापको समस्या भएको छ भने त्यसलाई परिवर्तन गर्दा यसको समाधान हुनसक्छ । तर उच्च रक्तचाप हुने विभिन्न कारणले हुने भएकाले जीवनशैली परिवर्तन मात्रै पनि समाधानको उपाय भने होइन ।

मोटोपन, खराब खानपानको कारण रक्तचाप बढेको छ भने तौल घटाउँदा वा खानपानमा सुधार ल्याउँदा बिस्तारै यो कम हुँदै जान्छ । त्यसरी नियन्त्रण भयो भने पनि एक्कासी औषधि छोड्न मिल्दैन । औषधिको मात्रा घटाउँदै जानुपर्छ र लामो समयसम्म नियन्त्रण भयो भने मात्र चिकित्सकको परामर्श लिएर छाड्न पनि सक्छन् ।

किटो डाइट र फास्टिङले हुँदैन

खानपान र जीवनशैली एकदमै महत्त्वपूर्ण छन् । यसमा सुधार गर्दा रक्तचाप ठीक ठाउँमा रहन सक्छ । रक्तचाप नियन्त्रण नै छ भने त औषधि खानै परेन । तर कुनै व्यक्तिले जीवनशैली सुधार गर्दा पनि रक्तचाप नियन्त्रण भएको छैन भने त औषधि सेवन गर्नु नै पर्छ । रोकथामको हिसाबले यो राम्रो हो । तर किटो डाइट र फास्टिङले पूर्ण रूपमा निको भने हुँदैन ।

औषधिको खासै साइड इफेक्ट छैन

उच्च रक्तचापका धेरै औषधिको खासै साइड इफेक्ट छैन । तर साधारण सुख्खा खोकी लाग्ने, खुट्टा अलिअलि सुन्निने लगायतका समस्या भने देखिन सक्छन् । तर उच्च रक्तचापको कारण हुने जति पनि नराम्रा असर छन् त्यसको तुलनामा औषधिको साइड इफेक्ट न्यून हो । र, औषधिको यी सामान्य साइड इफेक्टलाई व्यवस्थापन पनि गर्न सकिन्छ ।

उच्च रक्तचापको औषधि नखाए के हुन्छ ?

विभिन्न तथ्यांकले के देखाउँछ भने उच्च रक्तचाप भएका र नियन्त्रण नभएका व्यक्तिमा  हृदयघात, मस्तिष्कघात र मिर्गौला बिग्रिने सम्भावना अत्यधिक हुन्छ । साथै यसले आँखा, रक्तनलीमा पनि असर गर्ने भएकाले उच्च रक्तचाप भएकाले औषधि अनिवार्य रूपमा खानुपर्छ ।

(धुलिखेलस्थित धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ  प्रा. डा. राजेन्द्र कोजु सँगको कुराकानीमा आधारित।)

Copy link
Powered by Social Snap