२०८१ बैशाख १४

मेसी सर्वकालीन महान् फुटबलर भएकोमा शंका छ र?




मंगलबार राती कतारको लुसेलस्थित लुसेल रंगशालामा लिओनल मेसीको जादूमयी खेलको साक्षी बन्न पाइयो। फिफा विश्वकप २०२२ को सेमिफाइनलमा मेसीले क्रोएसियाविरूद्ध आफ्नो कला देखाए। अर्जेन्टिना ३-० ले विजयी हुँदै उपाधि नजिक पुग्यो।

हुन त मेसीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरूद्धको खेलमा पनि उस्तै खेल देखाएका थिए। आफ्नो वरिपरि विपक्षीलाई फनफनी नचाउने र बललाई उत्कृष्ट तवरबाट पास निकाल्दा लुसेल रंगशालामा समर्थकको हुटिङ एक्कासी बढ्थ्यो।

क्रोएसियाविरूद्ध पहिलो गोल मेसीले पेनाल्टीबाट गरेका थिए। दोस्रो गोल अल्भारेजले गर्दा तेस्रो गोलमा मेसीको कला देखियो। उनले विपक्षी बक्सभित्र उत्कृष्ट तरिकाबाट बल घुमाउँदै अल्भारेजका लागि पास मिलाइदिएका थिए।

मैदानमा मेसीलाई विपक्षीले चार तिरबाट घेरिरहँदा उनको खुट्टा बलबाट बल फुत्किदैन थियो। विपक्षी शारीरिक रूपमा आफूभन्दा बलिया भए पनि मेसीले विपक्षीलाई छक्याइरहन्थे।

विगत आठ वर्षमा मेसी फिफा विश्वकपको दोस्रो पटक फाइनलमा पुगे। सन् २०१४ मा अर्जेन्टिनाका लागि उपाधि जित्ने अवसर आएको थियो। तर त्यतिबेला जर्मनीसँग पराजित हुँदा मेसी र अर्जेन्टिनाको सपना चकनाचुर भयो।

विश्व फुटबलका सर्वाकालीन महान् खेलाडीमा अब मेसी परिसकेका छन्। मेसी महान् खेलाडी हुन् वा होइन भन्ने विषयको बहस अब गर्न जरूरी नभएको कतिपयको भनाइ छ।


Advertisement


जारी विश्वकपमा पाँच गोल गरिसकेका मेसीले समग्रमा विश्वकपमा एघार गोल पुर्‍याएका छन्।  जारी विश्वकपमा तीन एसिस्ट समेत गरेका मेसी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेसमेत खेलाडी बनिसकेका छन्।

अब आइतबार फाइनल जितेर मेसी आफ्नो अन्तिम इच्छा पूरा गर्न चाहन्छन्। क्लब फुटबलमा सबै उपलब्धि हासिल गरिसकेका मेसीले मंगलबार करिअरको १००२ औं खेल खेले। उनले ती खेलमा ७९१ गोल र ३४० एसिस्ट गरेका छन्।

स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दा उनले ३५ उपाधि जितेका थिए। गत सिजन फ्रेञ्च क्लब पिएसजीका लगि लिग वानको उपाधि जितेका मेसीले गत वर्ष नै देशका लागि पहिलो मुख्य उपाधि उचाल्न सफल भए। अर्जेन्टिना २०२१ को कोपा अमेरिका च्याम्पियन बनेको थियो।

मेसीले आइतबारको फाइनलमा मैदान उत्रिएसँगै रेकर्ड बनाउने छन्। उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन्। जर्मनीका लोथार माथाउसको २५ खेलको कीर्तिमान भंग गर्दै मेसीले विश्वकपमा २६ खेल खेल्नेछन्।

मंगलबारको खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानीले मेसी महान् खेलाडी भएकोमा कुनै पनि शंका नरहेको बताए। उनले मेसीलाई आफूले अभ्यास गराउनु पाउनु नै ठूलो कुरा भएको समेत बताएका थिए। उनी मेसीको खुट्टामा जादु रहेको र त्यसले विपक्षीलाई सजिलै नचाउन सक्ने क्षमता भएको बताए।

क्रोएसियाका प्रशिक्षकले पनि मेसीको प्रशंसा गरे। उनले मेसी संसारकै उत्कृष्ट खेलाडी भएको र क्रोएसियाविरूद्ध डरलाग्दो खेल खेलेको प्रतिक्रिया दिए।

मेसीका लागि कतारमा जारी फिफा विश्वकप अन्तिम अवसर हुनसक्छ। यो कुरा मेसीले पनि स्वीकार गरेका छन्। सात पटकका फिफा बालन डि’अर विजेता मेसी पाँचौं संस्करणको विश्वकप खेलिरहेका छन्।

सन् २००६ को जर्मनी विश्वकपमा डेब्यू गरेका मेसीले क्लब स्तरका सबै उपाधि र ट्रफी जितेका छन्। ‍

३५ वर्षीय मेसीको प्रेरणामा अर्जेन्टिना १९८६ पछि पहिलो पटक विश्वकपको ट्रफी उचाल्न चाहन्छ। त्यतिबेला म्याराडोनाको प्रेरणा पाएको अर्जेन्टिनालाई अहिले मेसीमाथि विश्वास छ।



यो सिजन पिएसजीका लागि २० खेलमा १२ गोल गरिसकेका मेसीले विश्वकपबारे भनेका छन्, ‘यो सायद मेरो अन्तिम विश्वकप हो,  मेरो यो ठूलो सपना पूरा गर्ने अन्तिम मौका हो। यो सुन्दर कुरा हो कि अर्जेन्टिना बाहिरका धेरै मानिसहरूले हामी च्याम्पियन बनोस् भन्ने चाहन्छन् र यो धेरै हदसम्म मेरो कारण हो। म मेरो करिअरमा संसारभरबाट पाएको मायाको लागि आभारी छु।’

गत वर्ष मेसी र उनको देश अर्जेन्टिनाले लामो समयपछि अन्तर्राष्ट्रिय उपाधि उचाल्न सफल भएका थिए।

कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो। मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो। जसमा मेसीले चार फाइनलमा खेलेका थिए। तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो।

१९९३ यता अर्जेन्टिना र मेसी अभागी सावित भइरहे। क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन्।

तर उनी र उनको देश २८ वर्षसम्म ‍अभागी सावित भए।

अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिकाको उपाधि जितेयता चार पटक र सन् १९९६ को विश्वकप जिते यता एक पटक फाइनलमा स्थान बनायो।

सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा लगातार उपाधिविहीन भएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका थिए।

तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिना सबैमा उपाधिविहीन भयो। त्यसैको चोटमा परेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट विदा लिने अप्रत्यासित निर्णय गरेका थिए।

सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भयो। विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिना फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा चुक्यो। आयोजक चिलीले पेनाल्टी सुटआउटमा मेसीको टोलीलाई पराजित गर्‍यो।

लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित भयो। अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानदार जित हात पार्दै फाइनल पुगेको टोली थियो, तर फाइनलमा फेरि तेस्रो पटक चुक्यो त्यो पनि मेसीकै कप्तानीमा, त्यो पनि चिलीसँगै हार्‍यो। अनि मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल छाड्ने निर्णय लिएका थिए।

स्पेनिस बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २० वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि मान्नु परेको थियो।

सन् १९८६ को विश्वकपको सेमिफाइनलमा इंल्याण्डविरूद्धको खेलमा डियगो म्याराडोनाले हातले गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्‍याएका थिए। त्यतिबेला फाइनलमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्यो। सायद इंग्ल्याण्डलाई हातले हानेको गोलको श्राप लाग्यो, अर्जेन्टिनाले त्यसपछि विश्वकप जितेको छैन।

सन् १९८६ को विश्वकपमा इंल्याण्डविरूद्धको खेलमा म्याराडोनाले हातले गोल गरेपछि उनले त्यो गोललाई आफैंले ‘ह्यान्ड अफ गड’ अर्थात् भगवानको हातको संज्ञा दिएका थिए।

विश्वकप जितेपछि फेरि फुटबलमा अर्जेन्टिनाको नयाँ युग सुरू भएको भनियो। तर मेसीको युगसम्म आउँदा अर्जेन्टिना उपाधिविहीन हुँदा समर्थकमा निराशाको बादल मडारिएको थियो। फाइनलमा पुगेर पनि सधैँ उपाधिविहीन हुने अभागी टोली सावित भयो र टोलीमा रहेका स्टार खेलाडी अभागी नै ठहरिए।

मेसी अर्जेन्टिनी राष्ट्रिय टिममा उदाएसँगै उनकै महत्वपूर्ण योगदानमा अर्जेन्टिना विश्वकप र कोपा अमेरिकामा चार पटक फाइनल पुग्यो तर चार पटक हार्‍यो अर्थात् उपाधिविहीन भयो।

मेसीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्नु एउटा महान खेलाडी माथि अन्याय हुन्छ। तर यो पनि सत्य हो, मेसीले जसरी आफ्नो क्लबलाई जित दिलाउने गरेका छन्, आफ्नो देशको सन्दर्भमा त्यतिकै अभागी ठहरिरहे।

मेसी स्वंयले क्लबमा राखेको कीर्तिमानी जस्तै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि पनि राखेका छन्। मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन् उनले खेलेका १७१ खेलमा ९६ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

मेसीले सन् २०१६ मा संन्यास घोषणा गरेपछि उनलाई फुटबलमा फर्काउन समर्थकले अभियान नै थालेका थिए। ‘डन्ट गो, लियो’ भनेर थालिएको अभियान क्षणभरै संसारभर फैलिएको थियो।

पछि ब्युनोस आयर्सका मेयरले मेसीको मूर्ति बनाएर मेसीलाई संन्यास फिर्ता लिन आग्रह गरेका थिए। मेसीलाई संन्यास फिर्ता लिनका लागि अर्जेन्टिनाको राजधानीमा एकैपटक ५० हजार दर्शक उपस्थिति भएका थिए। त्यसको एक सातापछि मेसीले संन्यास फिर्ता गरेका थिए।

१२ अगस्ट २०१६ मा संन्यास फिर्ता लिएका मेसीको काँधमा अर्जेन्टिनालाई सन् २०१८ को विश्वकप छनोट गराउने जिम्मा आएको थियो। विश्वकप छनोट जारी रहँदा मेसी २०१७ मा चार खेलको अन्तर्राष्ट्रिय प्रतिबन्धमा परे। त्यसपछि अर्जेन्टिनाको विश्वकप छनोट यात्रा संकटमा पर्‍यो।

अर्जेन्टिना १९७० पछि विश्वकप मा छनोट नहुने अवस्था आउँदा मेसीमाथि सारा अर्जेन्टिनाका समर्थकको भरोसा थियो। तर महत्वपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३-१ ले हरायो। खेलमा पछि परेको स्थिति उल्टाउने क्रममा मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्‍याएका थिए।

सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाको राम्रो सुरूवात हुन सकेन। पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्यान्डले १-१ गोलको बराबरीमा रोकेको थियो। खेलमा मेसीले पेनाल्टीमा गोल चुकाउँदा अर्जेन्टिनाले जितबाट बिमुख बनेको थियो। दोस्रो खेलमा अर्जेन्टिनालाई क्रोएसियाले ३-० ले हरायो। अन्तिम खेलमा नाइजेरियालाई २-१ हराएर अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको थियो। तर अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदा अर्जेन्टिना विश्वकपबाट बाहिरियो।

अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार असफल भइरहेका मेसीका लागि कोपा अमेरिका २०१९ अर्को अवसर ठानिएको थियो। तर कोपामा पनि मेसी फेरि चल्न सकेनन्। समूहको पहिलो खेलमा पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेसँग बराबरी खेलेको थियो।

क्वार्टरफाइनलमा भेनेजुएलालाई २-० ले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेपछि अर्जेन्टिनाको भाग्य फर्कने धेरै विश्वास गरेका थिए। भाग्य फर्काउन अर्जेन्टिनाले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई हराउनु पर्ने थियो। तर मेसी र उनको टिम अर्जेन्टिना फेरि एक पटक अभागी ठहरियो। ब्राजिलसँग २-० ले पराजित हुँदै सेमिफाइनलबाट घर फर्कन बाध्य भयो।

दुई वर्षपछि भने अर्जेन्टिना र मेसीको दिन आयो। कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि तथा मेसीले पहिलो पटक उपाधि उचाल्न सफल भए।

मुख्य प्रतियोगिताको पाँच वटा फाइनलमा असफल भइसकेको अर्जेन्टिनाका लागि कोपा २०२१ एउटा अवसर बनेर आएको थियो। जसमा सफल हुँदै अर्जेन्टिनाले आफ्ना समर्थकलाई खुसी दिन सफल भयो।

३५ वर्षीय मेसीका लागि कोपा २०२१ उपाधि जित्ने अन्तिम अवसर ठानिएको थियो। जुन अवसरमा मेसी र उनको टिम अर्जेन्टिना सफल भए। योसँगै मेसी सर्वकालीन महान् खेलाडीको सूचीमा निर्विकल्प अग्रस्थानमा रहन सफल भए।

मेसीलाई अब फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अर्को अवसर हो। फिफा विश्वकप २०२२ को उपाधि उचाले भने मेसीको तुलना कोही खेलाडीसँग पनि हुने छैन।

Copy link
Powered by Social Snap