२०८१ बैशाख २३

गठबन्धनले जितेपछि विकास र समृद्धिले गति लिन्छ : दाहाल




लमजुङ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन् । मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै दाहालले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने बताएका हुन् । 



Advertisement



पाँचदलीय गठबन्धनद्वारा लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताएका हुन् । ‘गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिले गति लिनेछ । यो देशमा राजनीतिक परिवर्तन हुने तर आर्थिक परिवर्तन त्यसै अनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन । जनताको घर आँगनमा उज्यालो आएजस्तो नलाग्ने भएको हुनाले राजनीतिक परिवर्तन पनि दिगो भएको छैन,’ उनले भने, ‘त्यसकारण गठबन्धनको सम्पूर्ण तागत विकास, समृद्धि, सुशासनका लागि लगाउने सहमति भएको छ ।’



दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफू मुलुकका विभिन्न जिल्लामा सँगै घुम्दा र एक्लाएक्लै जाँदा पनि गठबन्धनको पक्षमा जनमत देखिएको दाबी गरेका थिए । उनले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई जनमतसंग्रहको रूपमा ब्याख्या गरेका थिए । उनले भने, ‘यो पटकको निर्वाचन सामान्य निर्वाचन छैन । देश अगाडि लैजाने, शान्ति लाई टुंगोमा पुर्‍याउने, जनताको अधिकारलाई परिमार्जित र सुनिश्चित गर्ने या संविधान र देश पछाडि धकेल्ने भन्नेबीच प्रतिस्पर्धा हो ।’

पाँचदलीय गठबन्धनबाट लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

Copy link
Powered by Social Snap