२०८१ बैशाख ५

सत्ता गठबन्धन १२ बुँदे सहमति गर्दाकै गठबन्धनको निरन्तरता : महामन्त्री शर्मा




बिर्तामोड — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १२ बुँदे सहमति हुँदा दलहरुबीच भएको गठबन्धनको निरन्तरता अहिलेको सत्ता गठबन्धन भएको बताएका छन् । नीतिले १२ बुँदे सहमति भएको र नियतिले अहिले पुनः गठबन्धन गर्नु परेको उनको भनाइ छ । 



Advertisement



शर्माले १२ बुँदे सहमति गर्दा गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एमाले एक ठाउँमा उभिएको बताए । अहिले पुनः तिनै नेताहरुको पार्टीबीच गठबन्धन बनेको उनको भनाइ छ ।

‘गिरिजाप्रसाद नेतृत्वको कांग्रेस यो गठबन्धनमा छ । प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी यो गठबन्धनमा छ । त्यसैले नीतिले त हामी त्यतिबेलै एक भएका थियौं । नियतिले हामीलाई फेरि एक ठाउँमा ल्याएको छ,’ शर्माले भने ।



झापाको चन्द्रगढीमा गठबन्धनको तर्फबाट झापा १ र ३ नम्बरको संयुक्त चुनावीसभालाई शुक्रबार सम्बोधन गर्दै महामन्त्री शर्माले १२ बुँदे सहमतिबाट मुलुकमा सशस्त्र द्वन्द्व अन्त्य भएको र देशले शान्ति पाएजस्तै वर्तमान गठबन्धनले देशको अवस्थालाई परिवर्तन गर्ने दाबी गरे । ‘हामी एक भएर १२ बुँदे सहमति गर्दा देशले शान्ति पाएको होइन । माओवादीले हतियार क्यान्टोन्मेन्टमा राखेर सशस्त्र द्वन्द्व अन्त्य गरेको होइन,’ उनले भने,‘माओवादीको सशस्त्र द्वन्द्व अन्त्य गरेर देशले शान्ति पाएकै कारण आज मुलुकका जनताले स्वतन्त्रपूर्वक बाँच्न पाएको र थप जनधनको क्षति हुन नपाएको हो ।’

शर्माले गठबन्धनकै बलमा वर्तमान व्यवस्थालाई बलियो बनाएर जनताको अवस्था परिवर्तन गर्ने दाबी गरे । ‘हामीले व्यवस्था परिवर्तन गरिसक्यौं । मुलुकले संविधान पाइसकेको छ । अब व्यवस्था बदल्ने होइन । यो व्यवस्थालाई बलियो बनाएर जनताको अवस्था बदल्ने हो । त्यसैले हामीले चुनाव जित्नमात्र गठबन्धन गरेका होइनौं । निर्वाचन जितेपछि संयुक्त सरकार बनाएर जनताको अवस्था परिवर्तन गर्नेतर्फ अघि बढ्छौं,’ उनले भने ।

Copy link
Powered by Social Snap