२०८० चैत्र १६

ओली भन्छन्– स्वतन्त्रले केही गर्न सक्दैनन्





काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग देश र पार्टी चलाउने कुनै एजेन्डा नभएको टिप्पणी गरेका छन् ।



Advertisement



बुधबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको अधिकार, देशको स्वाधीनता, विकासलगायत एजेन्डा एमालेको रहेको जिकिर गरे ।

ओलीले आसन्न निर्वाचनमा एमाले विजयी नभए देश बर्बादीमा जाने बताए । देश बनाउने अभियानमा एमालेमा आउन उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलका नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।

नेकपा (एकीकृत समाजवादी) भन्ने पार्टी नै नरहेको उनको भनाइ छ । एमाले सिद्धाउने खेल भएको भन्दै उनले आउँदो मंसिर ४ गतेपछि त्यो खेलको अन्त्य हुने तर्क गरे ।



निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्ष गर्न सक्ने भन्दै उनले हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले निर्वाचनमा उठेका स्वतन्त्र उमेदवारहरूले केही गर्न नसक्ने जिकिर पनि गरे ।

निर्वाचनपछि बन्ने एमाले सरकारले ज्येष्ठ नागरिक भत्ता समयानुकूल बढाउँदै लैजाने उनले बताए ।

अध्यक्ष ओलीले डोटीमा गएको भूकम्पपीडितको उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

Copy link
Powered by Social Snap