२०८१ बैशाख ६

कर्णाली र सुदूरपश्चिमसहित चार प्रदेशको मतपत्र ढुवानी सकियो




काठमाडौँ — निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न गरेको छ । भुगोलको अवस्थाअनुसार सडक र आवश्यकताअनुसार हवाईमार्गसमेत गरी सबैभन्दा दुर्गम रहेका कर्णाली र सुदूरपश्चिमसहित चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको हो ।



Advertisement



आयोगले बिहीबारमात्रै मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी गरेको छ । योसँगै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको छ ।

शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी हुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।



यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ ।

आयोगकाअनुसार शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछ । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुर्‍याइसक्ने आयोगले जनाएको छ ।

Copy link
Powered by Social Snap