२०८१ बैशाख २०

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी :  प्रचण्ड




काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् ।



Advertisement



गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए ।

मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए ।

“यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ,” अध्यक्ष प्रचण्डले भने, “मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धतापत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ । आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभंग गर्नुपर्ने अवस्था छ ।”



मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे । “हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ,” उनले भने, “नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।”

निर्वाचन जित्ने र नजित्नेभन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढंगबाट अगाडि बढिएको उनको भनाइ थियो ।

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे । “म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो,” अध्यक्ष प्रचण्डले भने, “यो पार्टी पुनर्निर्माणको अभियान पनि हो ।”

आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उनले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताए ।

“गोरखाली जनताको प्रमुख माग सडक निर्माण र स्तरोन्नति रहेको मैले पाएँ । गोरखकाली रबर उद्योग सञ्चालन गरेर ठूलो संख्यामा रोजगारी उपलब्ध गराउने सम्भावना छ,” उनले भने, “उपल्लो क्षेत्रमा जडीबुटी तथा ठूला फाँट एवम् टारमा कृषि क्रान्तिको ठूलो सम्भावना छ ।”

आसन्न निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमने–सामने भएको उल्लेख गर्दै उनले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए ।

“संविधान र लोकतन्त्रको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेको छ,” अध्यक्ष प्रचण्डले भने, “अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ । यी दुई गठबन्धन आमने–सामने छन् । मंसिर ४ गते जनताले फैसला गर्नेछन् ।”

मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गर्न माओवादीले आफ्नो प्रतिबद्धतापत्रमार्फत संरचनागत सुधारको विषय उठाएको जनाउँदै उनले शासकीयस्वरूप र निर्वाचन प्रणाली परिवर्तन तथा २०४७ पछि लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय माओवादीले मात्र उठाएको बताए । 

Copy link
Powered by Social Snap