२०७९ मंसिर २२
Advertisement

Advertisement

टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३




कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ । 

प्रेमगीत–३ नेपाली भाषाबाहेक हिन्दी, उर्दु लगायत अंग्रेजी सबटाइटलमा ५० भन्दा बढी देशमा एकसाथ सिनेमा घरको सिस्टममा प्रदर्शन भयो । यो पंक्तिकार प्रेमगीत–३ को कार्यकारी निर्माताको नाताले भन्नैपर्ने हुन्छ कि यसको निर्माणमा निकै मेहनत परेको छ । संस्थापक निर्देशक छेतेन गुरुङ, सन्तोष सेनको क्याप्टेनसिप अनि स्पट ब्वाइदेखि डाइरेक्टरसम्म टिमको अथक मेहनत छ यसमा । काठमाडौंदेखि मनाङको माइनस २९ सम्मको तापक्रम अनि दुई वर्ष भारतको मुम्बईका गल्ली गल्लीका संघर्षको कथा निकै लामो छ । 


Advertisement


टिमवर्कको सफल उदाहरण नै अहिलेको प्रेमगीत–३ सफलताको श्रेय हो भन्ने मैले बुझेको छु । चलचित्र छायाँकनको लागी जब हामी १३० जनाभन्दा बढीको टोली मनाङ पुगेका थियौं । त्यो समय निकै कष्टकर थियो । प्रतिकुल मौसम दिनहुँको हिमपात माईनस २९ सम्मको तापक्रममा काम गर्नुपर्ने स्थिति निकै तनावपूर्ण थियो । 

हात्तीढुङ्गाको गीतको छायांकनको बेला कोरसका कैयन साथीहरु एक्कासी अग्लो उचाईमा आएको कारण नाकमुखबाट रगत बगेर लडेको डरलाग्दो स्थितिसमेत आयो । टिमका अन्य साथीहरुले बोकेर नजिकैको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को स्वास्थ्य चौकीको सहयोग लिएर उपचार गरेको घटना कसरी बिर्सिनु ? यो काम निकै संवेदनशील थियो । कति काम त भगवान भरोसा नै थियो । 

हुन त केही गाह्रो भए हामीले हवाई रेस्क्यूको लागि पोखरामा हेली तम्तयार राखेका थियौ । तर केही भैहाले पनि प्रतिकुल मौसम भारी हिमपातको कारण हेली आउन सक्ने सम्भावना पनि निकै कम रहन्थ्यो । त्यहाँका स्थानीय होटल ब्यवसायीको निकै ठुलो साथ सहयोग गरेको कारण हामीले राम्रोसँग काम सम्पन्न गर्न सक्यौं । 

आज प्रेमगीत–३ को चर्चा संसारभर चलिरहँदा भने हामी निकै भावुक भएका छौं, खुशीको सीमा नै छैन । संसारका दर्शकले जुन प्रतिक्रिया दिएका छन् त्यो नै सबै टिमको खुशी हो जस्तो लाग्छ । 

नेपाली चलचित्रको बजार सानो छ, दर्शक सीमित छन् । चलचित्र उत्कृष्ट बन्न नसकिरहेको अवस्थामा प्रेमगीत–३ र यसको टिमले जुन साहस गरेको छ, त्यो समग्र नेपाली चलचित्रको लागि नै नयाँ ढोका खुलेको चलचित्र नगरीमा चर्चा हुन थालेको छ । 

मेकरका लागि पनि स्तरीय चलचित्र बनाउन सकेमा अव नेपाली चलचित्र विश्व बजारमा पुर्याउन सकिने साहस बढेको छ । प्रेमगीत–३ को कथा, कलाकारहरुको काम, निर्देशकीय पक्ष कस्तो छ भन्दा  पनि आमदर्शकले प्रेमगीत–३ ले संसारभर खोलेको ढोकामा साथ समर्थन जनाइरहेका छन् । यो साथ समर्थन नै चलचित्रको ठुलो सफलता हो भन्ने लाग्छ । 



यति गर्दा पनि प्रेमगीत–३ चलचित्रमा हामीले विवाद खेप्नु पर्यो । कतिले आफ्नो गुमेको पहिचानलाई स्थापित गर्न खोक्रा राष्ट्रवादका भाषण गरे त कतिले गैह्रजिम्मेवारीपन देखाए । यी सबै कुराको समीक्षा त इतिहासले गर्ला नै । तर, जे भयो त्यो आफैमा दुर्भाग्यपूर्ण भयो । 

प्रेमगीत–३ साना दुःखले बनाएको चलचित्र थिएन । यसमा धेरैको कडा मेहनत छ । धेरैको साथ सहयोग रहेको प्रोजेक्ट हो यो । जसको कारण यो चलचित्र नेपालमा मात्र सीमित नभई संसारभर आफ्नो गर्विलो उपस्थिती जनाएको छ । जसरी बलिउड, हलिउडका सिनेमा संसारभर प्रदर्शन हुने गर्दछ । त्यही सिस्टममा नेपाली चलचित्र प्रदर्शन हुनु आफैमा गर्वको कुरा हो । 

तर प्रेमगीत–३ लाई हिन्दी भाषामा स्वराङ्कान गर्दा हामीले देशद्रोहीको आरोप पायौँ, राष्ट्रघातीको उपमा पायौँ । हुँदा हुँदा चलचित्र विकास बोर्डले पनि यो विदेशी चलचित्र हो भन्दै मन्त्रालयमा सोही अनुसारको सिफारिस गर्यो । त्यो सिफारिसलाई मन्त्रालयले ठाडै अस्वीकार्दै यो नेपाली चलचित्र नै हो भन्ने जवाफ दियो । यस किसिमको सवाल जवाफमा हामी निर्माण पक्ष करिब एक हप्ता रुमलिनु पर्यो । यस्ता गतिविधिले निकै निराशा समेत बनाएको थियो । तर पनि हामी पछाडि हटेनौ । 

अन्त्यमा प्रेमगीत–३ हिन्दी भाषामा स्वराङ्कन भएकोलाई नेपाली चलचित्रको रुपमा मान्यता दिदा सत्यको जीत भयो । यो कुनै व्यक्ति विशेषको जीत हार भन्दा पनि समग्र नेपाली चलचित्र क्षेत्रको जीत भएको थियो । यति हो कि चलचित्र प्रदर्शनमा केही दिन ढिलाइ हुँदा हामीलाई ३ देखि ४ करोडको ब्यबसायिक घाटा लाग्यो । 

प्रेमगीत–३ को सम्बन्धमा सिंगो नेपाली चलचित्र क्षेत्र नै दुई भागमा बिभाजन हुँदा बडो दुःख लाग्यो । निर्माताको हक हितमा खोलेको निर्माता संघ र त्यसको अध्यक्षले बोलेका गैरजिम्मेवार बक्तब्यबाजीले हामीलाई निकै स्तब्ध बनाएको छ । निर्माता संघले १५ प्रतिशत विकास शुल्क छुट दिन विज्ञप्ती निकालेको होला भनी हेर्दा त उल्टो विकास शुल्क लगाउ भनी बक्तब्यबाजी गरिनु आफैमा पनि दुःखद हो जस्तो लाग्छ । 

प्रेमगीत–३ टिमको हिन्दी भाषामा समेत स्वराङ्कान नयाँ कार्य भएकोले चलचित्र निर्माण कम्पनीका पनि केही कागजी कमीकमजोरी भए होलान् । त्यसैलाई ठुलो रुप बनाएर सकभर चलचित्र नै प्रदर्शन हुन नदिने खेल दुःखदायी थियो । नेपाली भाषामा प्रेमगीत–३ प्रदर्शनको ३ दिनपछि मात्र हिन्दी भाषामा स्वराङ्कान भएको चलचित्र प्रदर्शन गर्न सकियो । 

चलचित्र प्रेमगीत–३ सम्बन्धमा जे जस्तो विवाद भयो, त्यसले नेपाली चलचित्र क्षेत्रमा हुने राजनीति अनि अन्याय कस्तो हुने रहेछ भन्ने थप प्रमाणित गरिदिएको छ । 

प्रेमगीत–३ चलचित्रले एउटा इतिहास कोरेको छ । बलिउडका स्टारहरूको जसरी चलचित्र प्रदर्शनमा आउँछ, त्यही हिसाबमा नेपाली चलचित्रको प्रचारबाजीदेखि प्रदर्शनसमेत हुनु आफैमा गौरवको कुरा हो । यो नेपाली चलचित्र क्षेत्रको ठुलो सफलता हो । 

यति मात्र हैन, प्रेमगीत–३ का कारण नेपालको लोकेशनलाई लिएर लाखौं भारतीयसँगै विश्वभरमा प्रचारप्रसार हुनुले नेपालको पर्यटन प्रबर्द्धनमा ठुलो योगदान पुग्ने विश्वास समेत लिइएको छ । भारतीय सिनेमा मेकरले नेपालको लोकेशनमा आफ्नो चलचित्र छायांकनका लागि छनौट समेत गरेको समाचार प्रकाशनमा आएका छन् । यो पनि आर्थिक हिसाबले राम्रो कुरा हो ।

विश्व बजारमा नेपाली चलचित्रको बलियो र गर्विलो उपस्थिति भएको छ । संभावनाका ढोकाहरु प्रेमगीत–३ ले खोलेको छ । अब नेपाली मेकरले स्तरीय चलचित्र बनाउन सकेमा विश्वबजारमा आफ्नो उपस्थिति जनाउन सहज भएको छ । 

प्रेमगीत–३ तीन साता पार गर्दा पनि भारत लगायतका विभिन्न देशमा अझै उत्साहजनक रुपमा प्रदर्शन भैरहेको छ । दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । यो निकै सकारात्मक सन्देश पनि हो । 

प्रेमगीत–३ ले नेपाली चलचित्रलाई विश्व बजारमा प्रवेश गराएको मात्र छैन, व्यापारको सफलताको ढोकासमेत खोलेको छ । यस खुशीमा सिंगो राज्य अझ चलचित्र क्षेत्रका सबै परिवारले ‘सेलिब्रेशन’ गर्नुपर्दछ भन्ने लाग्छ । 

लेखक प्रेमगीत ३ फिल्मका कार्यकारी निर्माता हुन्

Copy link
Powered by Social Snap