२०८१ बैशाख १०

शेखर समूहको निष्कर्ष : ४० प्रतिशत सिट चाहिन्छ, बेवास्ता गरे ठूलो संकटको सामना गर्नुपर्छ




काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । आज शीर्ष नेताको उपस्थितिबिना बसेको बैठकले आफूहरूलाई सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।



Advertisement



संस्थापन पक्ष एक्लौटी रूपमा गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ । 

“हामीले प्रतिशतको कुरा गर्न चाहेका होइनौँ । गएको स्थानीय निर्वाचनमा हामीले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर प्रभावशाली मान्छेलाई टिकट दिनुपर्छ भन्यौँ । तर, हाम्रो कुरा मानिएन । त्यसैले अहिले हामीले ४० प्रतिशत चाहिन्छ भनेका हौँ,” बैठकमा सहभागी एक नेताले भने ।

उनीहरूले आफूहरूको भेलालाई नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने चेतावनी दिएका छन् ।

गएको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफूहरूलाई किनारा लगाउन खोजेको उनीहरूको भनाइ छ । 



भेलापछि कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले न्याय र समान अवसरका लागि पार्टीभित्रैबाट खबरदारी गरिरहँदा त्यसलाई उचित ढंगले निकास दिनुपर्ने बताए । आगामी निर्वाचनमा विजयी हासिल गर्नका लागि अन्य पार्टीसँग गठबन्धन गरिरहदा आफ्नै पार्टीभित्र पनि गठबन्धन गरी एकढिक्का गर्नुपर्ने उनको भनाइ छ ।

उनले सामानुपातिक सूचीमा पनि असन्तुष्टिका स्वरहरू आइरहँदा संस्थापन पक्षले समाधान दिन नसकेको अवस्थामा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा काखापाखा गर्न नहुने बताए । पार्टीले फेरि अन्याय गरी टिकट वितरण गरे निर्वाचनको परिणाम आउन नसक्ने उनले बताए । 

मनोनयनको मिति नजिकिएसँगै शेखर समूहका नेताहरू भेलामा जुट्न थालेका छन् । यसअघि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीमा संघर्ष गरेका थिए । अन्तिममा आएर कांग्रेसको समानुपातिक सूचीमा केही परिवर्तन गरिएको थियो । 

Copy link
Powered by Social Snap