२०८१ बैशाख १३

निर्वाचन पर्यवेक्षकले के गर्न हुन्छ के हुँदैन ?




काठमाडौं । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुँदा राजनीतिक दल वा उमेदवारको समर्थन गर्न नहुने बताएको छ । उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगले जनाएको छ । 



Advertisement



निर्वाचन अधिकृत वा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नुअघि उमेदवार विजयी भएको सूचना सम्प्रेषण गर्न वा गराउन नहुने जनाएको आयोगले राजनीतिक दल, उमेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने स्पष्ट पारेको छ । 

सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न नहुने, निर्वाचनलाई प्रभावित पार्ने कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न नहुने आयोगले जनाएको छ । 



पर्यवेक्षकले पर्यवेक्षक परिचयपत्र सबैले देख्ने गरी लगाउनुपर्ने, आयोगले अनुमति दिएको क्षेत्रमा मात्र पर्यवेक्षण गर्नुपर्ने, मतदान अधिकृतको अनुमति लिएर निश्चित दूरीबाट मात्र मतदान कार्यको पर्यवेक्षण गर्नुपर्ने आयोगले बताएको छ । विभिन्न जातजाति, सम्प्रदाय, लिंग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गरी स्वतन्त्र, निष्पक्ष, तटस्थ, विश्वसनीय ढङ्गले पर्यवेक्षण गर्नुपर्ने भन्दै आयोगले भनेको छ, “मतदान अधिकृतको अनुमति लिई मतदानस्थलको घेरा बाहिरबाट तस्बिर खिच्न सकिनेछ ।”

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुदै छ । यसका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर काम सुरु गरिसकेको छ । 
 

Copy link
Powered by Social Snap