२०८१ बैशाख ८

विवेकशील साझाले गर्‍यो ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज




काठमाडौं । विवेकशील साझा पार्टीले ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकबाट उक्त दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो ।



Advertisement



उक्त विचारसँग असहमत पार्टीका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर हुने निर्णय समेत गरिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

“शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो,” प्रवक्ता परियारले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



यस्तै, विवेकशील साझाको वर्तमान केन्द्रीय समितिमा रहेका केही नेताहरू पार्टी हितविपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको पाइएको जनाइएको छ । पार्टी नीति तथा हितविपरीत गतिविधिमा संलग्न नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय पनि बैठकबाट गरिएको छ ।

वैचारिक असहमतिका कारण राजीनामा दिएका र असन्तुष्ट भएर निष्क्रिय रहेका पार्टीका नेता तथा सदस्यहरूलाई पार्टीमा पुनः सक्रिय हुन अपिल गरिएको छ ।

पूर्वअध्यक्ष रवीन्द्र मिश्रले उक्त दस्तावेज सार्वजनिक गरेका थिए । हाल उनी उक्त पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । 

Copy link
Powered by Social Snap