२०८१ बैशाख ११

गठबन्धनमा भागबन्डा टुंगिएपछि कांग्रेसले उमेदवार चयन गर्छ : खाँण




काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उमेदवार चयन गर्ने बताएका छन् । 



Advertisement



मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उमेदवार चयन गर्ने बताएका हुन् । 

“निर्वाचनमा दलहरूको बीचमा गठबन्धनमा छौँ । पहिला कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उमेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ,” उनले भने । 

गृहमन्त्री खाँणले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए । 



उनले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरूका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेका बताए । 

यसैबीच, सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्ने विश्वास व्यक्त गरे । 

“आज ढिलो रातिसम्म छलफल गरेर सहमतिमा जाने प्रयास हुन्छ,” उनले भने । 

उनले भागबन्डाको टुंगो लगाउन सोमबारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको बताए । 

उनले हालसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमति जुट्न नसकेको स्पष्ट पारे । 

Copy link
Powered by Social Snap