२०८१ बैशाख १४

आयुर्वेद : पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण ?




आयुर्वेद भन्नासाथ आम बुझाइ के पाइन्छ भने यो जडिबुटीबाट गरिने उपचार हो । तर आयुर्वेदको आयाम यतिमा मात्र सीमित छैन । यो हाम्रा पूर्खाहरुले खोज, प्रयोग र अभ्यास गरेका सदियौं पुरानो चिकित्सा पद्धति हो ।

खासगरी आयुर्वेदले सम्पूर्ण शरीरलाई शोधन गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने भूमिका खेल्छ । यसका पनि विविध तौरतरिका छन् । त्यसमध्येको एक हो, पञ्चकर्म ।



Advertisement



के हो पञ्चकर्म ?

आयुर्वेद चिकित्साको सिद्धान्त अनुसार रोग तीन कारणले लाग्छ, वात, पित्त र कफ । यी तत्वमा विषमता वा प्रकोप हुनु नै रोग उत्पन्न हुनु हो । अतः यी रोगहरुबाट मुक्ति पाउने एउटा प्राकृतिक विधि पञ्चकर्म हो ।

पञ्चकर्मका पाँच विधिध छन्, वमन, विरेचन, नास्य, वस्ती तथा रक्तमोक्षण । यसले शरीरका विकारलाई हटाएर शरीरमा जीव विष पैदा गर्नसक्ने तनाव वा रोगलाई कम गर्न सहयोग गर्छ । अनि शरीरलाई दोषहरुबाट मुक्त राख्छ । स्वेद ग्रन्थी, मूत्र मार्ग, आन्द्रा आदि अपशिष्ट पदार्थ उत्सर्जित गर्ने मार्गलाई सफा गर्छ । त्यसैले शरीर शुद्धीकरणका लागि पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।



कसरी गरिन्छ ?

पूर्वकर्मका स्नेहन र स्वदेन क्रियाबाट शरीरलाई संस्कारित गरेपछि पञ्चकर्मका लागि तयार गरिन्छ । स्नेहनमा घिउ, तेल, बोसो सेवन गराई आन्तरिक रुपमा स्नेहन गराइन्छ । यसले हाम्रो पाचन प्रणालीलाई पञ्चकर्म गर्नका लागि योग्य बनाउँछ ।

यसैगरी बाह्य स्नेहनमा बोसो लगायत तेलबाट मालिस गराइन्छ । यसलाई आयुर्वेदमा अभ्याङ्ग भनिन्छ ।

स्वदेन एक यस्तो प्रक्रिया हो, जसले शरीरबाट पसिनाको माध्यमबाट विकारहरु निकालेर शरीरलाई पञ्चकर्मका लागि तयार बनाउँछ ।

वमन

कफ दोष बढेर आमाशय र फोक्सोमा जम्मा हुन पुग्छ । यसैलाई हटाउन विभिन्न किसिमको जडिबुटीको रस पिउन दिएर वमन गराइन्छ । वमनले अजीर्ण, नवज्वर, खोकी, दम, पिनास, डन्डिफोर जस्ता समस्या हट्छ ।

विरेचन

औषधि खुवाएर पातलो द्रव्ययुक्त मललाई निष्कासन गर्ने उपचार विधि हो विरेचन । यसले पित्तजन्य रोग निर्मूल गर्छ । विरेचन विधिले आन्द्रामा रहेको पित्त दोषलाई निकाल्न मद्दत गर्छ । यसले कब्जियत, जन्डिस, मोटोपन, अपज, पेट फुल्ने जस्ता रोगबाट मुक्त गर्छ ।

वस्ती

मलद्वारबाट ठूलो आन्द्रामा औषधियुक्त द्रव्य पठाएर गरिने उपचार विधि वस्ती हो । यसले मूत्राशय र पाठेघरको सफाइ गर्छ । साथै योनीमार्गबाट औषधि राखेर पाठेघर, पिसाब थैलीको उपचार गरिन्छ ।

यसले पिसाब नली र पाठेघरको सफाइ, पिसाब थैलीको पत्थरी, कम्मर दुखाइ, स्नायु रोग,  मधुमेह जस्ता रोगबाट राहत दिन्छ ।

नश्य

नाकबाट औषधि प्रयोग गर्ने विधि हो यो । यसले कफजन्य रोगबाट मुक्त दिलाउँछ । खासगरी नाक, कान र घाँटीको समस्या भएकाहरु यसबाट लाभान्वित हुन्छन् । माइग्रेन, नाकभित्र मासु पलाएको, स्वरभेद, मुख बाङ्गो हुने समस्या, घाँटीको समस्या आदिमा यो फाइदाजनक हुन्छ ।

रक्तमोक्षण

यो रगत शुद्धीकरण गर्ने विधि हो । यसमा विभिन्न तरिकाले रगतमा भएको पित्त दोष हटाउने गरिन्छ । कुष्ठरोग, स्तन रोग, पिलो जस्तो समस्याबाट मुक्ति दिलाउँछ ।

Copy link
Powered by Social Snap