२०७९ आश्विन १०
Advertisement

Advertisement

कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

२३ साउन, काठमाडौं । अनियमित ढंगले करको दर हेरफेर प्रकरणमा ‘फेस सेभ’ गर्न अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट सुटुक्क बाहिरिए । त्यही प्रकरणमा मुछिएका राजस्व सचिव कृष्णहरि पुष्कर  कर्ण भने मन्त्रालयभित्रै अर्को चौका दाउ हेर्दैछन् ।

करको दर हेरफेरको विषय भएकाले यो प्रकरणमा मरासिनीमाथि जति नैतिक प्रश्नहरू थिए, उस्तै प्रश्नबाट घेरिएका व्यक्ति हुन्, पुष्कर पनि । तर, सरकारले कत्ति पनि अप्ठ्यारो नमानी १९ साउनको मन्त्रिपरिषद् बैठकबाट तिनै पुष्करलाई तत्कालका लागि भन्दै अर्थसचिवको जिम्मेवारी सुम्पिएको छ ।

यसअघि नै नैतिक प्रश्नहरूमा कमजोर साबित भइसकेका उनी यतिमै चित्त बुझाउनेमा छैनन् । उनले जसरी पनि अर्थसचिवमा कायम रहने ‘लबिइङ’ बढाएको मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार, अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्वहाली पुष्करको लागि वरदान सावित हुने अवस्था छ ।

त्यसका लागि हालसालै सचिवमा बढुवा भएर सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पोष्टिङ भएका रामेश्वर दंगाललाई राजस्व सचिव बनाउन पुष्करको जोड छ । आफूभन्दा जुनियर दंगाललाई राजस्वमा ल्याएर आफू अर्थसचिव कायम हुने पुष्करको रणनीति छ ।


Advertisement


मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री शर्मा पुष्करको जोडबलप्रति सकारात्मक छन् । १५ साउनमा मन्त्रालय फर्किंदा उनलाई अर्थसचिव नआएको कार्यक्रममा राजस्व सचिव पुष्करले नै खादा-माला लगाएर न्यानो स्वागत गरेका थिए ।

अर्थमन्त्रीलाई सकारात्मक बनाइसकेका पुष्करले बालुवाटारतिर लबिइङ तीव्र पारेका छन् । त्यसका लागि उनले नेपाली कांग्रेसका केही नेता र बालुवाटार निकट व्यवसायीलाई परिचालन गरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

अर्थसचिव बन्ने हतार किन त ? भन्ने अनलाइनखबरको प्रश्नमा पुष्करले जवाफ दिन चाहेनन् ।

बाठा सचिव

बजेटमा करको दर हेरफेर प्रकरण चर्किएपछि राजस्व सचिव पुष्कर गत २१ असारमा अष्ट्रिया यात्रामा निस्किएका थिए । यो विवादमा विषयगत हिसाबले उनी नै बढी जिम्मेवार थिए ।

संसदीय छानबिन समितिले बयानका लागि बोलाएपछि फर्किएका उनले आत्मरक्षात्मक जवाफ दिएका थिए । बयानका क्रममा उनले आफू आध्यात्मिक चरित्रको व्यक्ति भएको भन्दै बदनियत राखेर करको दर हेरफेर नभएको बताएका थिए ।

कतिपय करको दर बलियो आधार र सिफारिस विना किन हेरफेर भए भन्ने समितिका सांसदहरूको प्रश्नमा पुष्करले दिएको जवाफ आश्चर्यजनक थियो । उनले भनेका थिए, ‘म सचिव भएर पनि सचिव हैन ।’

बजेट बनाउँदा अर्थमन्त्रीले आफूसँग भन्दा बढी ‘अर्को सचिव’सँग छलफल गरेको र अर्थमन्त्री र अर्थसचिवको निर्देशन अनुसार इमानदार भएर काम गरेको भन्दै पुष्कर पन्छिएका थिए । जबकि, करको दरमाथि उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी मन्त्री र अर्थसचिव पछि राजस्व सचिव पुष्करकै थियो ।

‘हरेक करका दर हेरफेर गर्न सिफारिस गरिएको प्रतिवेदन विभागहरूबाट राजस्व सचिवकोमा नै जान्छ, त्यो उहाँले नै स्वीकृत गर्ने हो’ आन्तरिक राजस्व विभागका एक पूर्वमहानिर्देशक भन्छन्, ‘यो प्रकरणमा आफू चोखो बस्ने उहाँको प्रयास गैरजिम्मेवार र लज्जास्पद छ ।’

यो पनि पढ्नुहोस

राजस्व सचिव पुष्करको चलखेल गरिरहने प्रवृत्तिबाट तत्कालीन अर्थसचिव मरासिनी आजित थिए । बजेट निर्माणभन्दा अघिबाटै मरासिनीसँग पुष्करको सम्बन्ध धमिलिएको थियो । अर्थसचिव मरासिनीले आफू निकटका सहसचिवहरूसँग ‘पुष्करको सुशासन’माथि शंका व्यक्त गर्थे ।

‘पुष्करले विभिन्न विषयमा मन्त्रीमार्फत दबाव दिने गरेका कारण पनि मरासिनी आजित थिए’ अर्थ मन्त्रालय स्रोत भन्छ, ‘राजस्वको दर हेरफेर र त्यसबाट उत्पन्न विवादमा पुष्करले चोखै बस्ने खेल खेलेपछि त मरासिनी ज्यादै रुष्ट बनेका थिए ।’

मन्त्रीलाई सजिला सचिव

अहिलेको अवस्थामा पुष्कर अर्थसचिव कायम रहे अर्थमन्त्री शर्मालाई सहज हुनेछ । एउटै प्रकरणका अनेक नैतिक प्रश्नहरू पन्छाएर पदमा बसिरहेका दुई पात्रबीच ‘नङमासु सम्बन्ध’ रहने आधारहरू छन् ।

पुष्कर राजस्व सचिव कायमै रहने अवस्थामा अन्य सचिव अर्थसचिव बन्न हिच्किचाइरहेका छन् । पुष्करको विवादास्पद चरित्र मात्रै हैन, राजस्व प्रशासनमा कमजोर अनुभवका कारण पनि अरू सचिवहरू मरासिनीले चातुर्यपूर्ण तरिकाले छोडेको ठाउँमा जान डराएका छन् ।

अर्थसचिवका एक दावेदारका अनुसार अर्थ मन्त्रालयको प्राविधिक पक्षबारे कत्ति पनि ज्ञान नहुँदै पुष्कर राजस्व सचिव बनेका थिए । ‘अर्थ मन्त्रालयभित्रको कार्यसंस्कृतिबारे उनमा अहिले पनि पर्याप्त ज्ञान र अनुभव छैन’ उनी भन्छन्, ‘सधैं शक्तिकेन्द्र वरपर घुमेर अवसर लिने यस्ता पात्रसँग काँध जोडेर काम गर्न डरै हुन्छ ।’

अनायासै अर्थ यात्रा

सरकारले ११ भदौ २०७८ मा कृष्णहरि पुष्करलाई राजस्व सचिव नियुक्त गरेको थियो । रोचक के भने उनी २४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका थिए । त्यसको डेढ महिनामै उनी अर्थ मन्त्रालयमा भित्रिए । प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा रहेका पुष्कर सचिव पदमा अनुभव विनै देशको ‘ढुकुटी भर्ने’ जिम्मेवारीमा पुगेका थिए ।

त्यसअघि उनले अर्थ मन्त्रालय अन्तर्गतका कुनै निकायमा काम गरेका थिएनन् । अनुभव नै नभएको क्षेत्रको नेतृत्वमा आएकाले उनी अहिले पनि अर्थ मन्त्रालयका प्राविधिक विषयहरूमा अलमलमै देखिने गरेको अर्थका अधिकारीहरू बताउँछन् ।

सुरुमा पुष्कर महेश्वर न्यौपानेलाई सरुवा गराएर गृह सचिव बन्ने कसरतमा थिए । त्यो सम्भव नभएपछि उनले राजस्वमा पस्ने लबिइङ गरे । त्यसका लागि उनले नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रायः सबै नेतामार्फत दबाव बढाएर राजस्व सचिव बन्न चाहने अर्थका ‘क्याडर’हरूलाई पछाडि पारिदिए ।

निकै आकर्षक मानिने राजस्व सचिव बन्दा उनले आफूभन्दा वरिष्ठ सचिवहरूलाई समेत पाखा लगाए । सचिव भएपछि संघ अघि प्रदेशमा गएर काम गरेको अनुभव बटुल्नुपर्ने प्रचलन पनि पुष्करले मान्नु परेन ।

सरकारले अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर संशोधन गर्ने गृहकार्य गरिरहँदा नाटकीय रूपमा भएको पुष्करको ‘इन्ट्री’लाई अर्थ मन्त्रालयभित्र कसैले खुलेर स्वागत गर्न सकेका थिएनन् ।

अर्थ र राजस्व प्रशासनको आधारभूत अनुभव समेत नभएका पुष्करको काँधमा मन्त्रालय छिर्दाछिर्दै बजेट संशोधन र राजस्वसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू परेको थियो ।

विवादास्पद छवि

बढी विवादास्पद सचिवको सूची बनाउने हो भने कृष्णहरि पुष्कर अग्रस्थानमा पर्छन् । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको भुमरीमा थिए ।

तत्कालीन श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए ।

त्यसपछि उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा पनि काम गरे, तर जहाँ-जहाँ कामका लागि पुगे, त्यहाँ उनी सधैं विवादमा मुछिए । मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि त झन् उनको कार्यशैलीले धेरैलाई प्रताडित नै बनायो । तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेका पुष्करले अख्तियारमा बसेर देखाएको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो ।

१३ मंसिर २०७२ मा उनले विभिन्न मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई अख्तियारमा बोलाएर धम्क्याएका थिए । नाकाबन्दीले ग्रसित भएको बेला आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै उनले पत्रकारहरूकै अगाडि वरिष्ठ सहसचिवहरूलाई अपमानजनक ढंगले निर्देशन दिएका थिए । भूकम्पपछि त्रिपाल किन्दा भएको घोटालाको प्रशंग निकाल्दै तत्कालीन सहसचिवहरू यादव कोइराला, एकनारायण अर्याल लगायतको उपस्थितिमा भएको बैठकमा उनले  ‘नरपिचास’ शब्द प्रयोग गर्दै काम गर्न नसक्ने कर्मचारीलाई पद छाड्न चेतावनी दिएका थिए ।

सचिव र कुनै आयुक्त उपस्थित नरहेको कार्यक्रममा उनले निर्देशन मात्र नभई भनेअनुसार काम नभए कारबाही गर्ने चेतावनी पनि दिएका थिए ।

तेल वितरणमा अनियमितता र जग्गा घोटालामा तानिएका आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बचाउन पुष्करले अख्तियारमा बसेर ठूलो भूमिका खेलेका थिए ।

स्वास्थ्य क्षेत्रको सुधार र लोकमानसिंह कार्कीमाथि महाअभियोगको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीलाई उनले १२ असार, २०७३ मा विज्ञप्ति निकालेर ‘पागल’ घोषणा गर्ने आँट गरेका थिए ।

लोकमान सिंहकै दबावमा १७ साउन २०७३ मा पुष्करलाई दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलर नियुक्ति गरिएको थियो । त्यतिबेलासम्म उनले वाणिज्य मन्त्रालय अन्तर्गतको ‘काउन्सिलर’ बन्ने गरी कुनै अनुभव बटुलेका थिएनन् ।

जे पनि ‘हुन्छ हजुर’मा सबभन्दा योग्य सचिव

यिनै पुष्करलाई वर्तमान सरकारले अर्थसचिव बनाउन खोजिरहेको छ । एक पूर्वसचिव अर्थ मन्त्रालयभित्रको प्रणालीलाई नबुझेका व्यक्तिलाई अर्थसचिव भए मुलुकको आर्थिक प्रणालीले थप मूल्य चुकाउनुपर्ने बताउँछन् ।

‘पछिल्लो दुई दशकमा सुमन शर्माबाहेक कुनै पनि सचिव अर्थ मन्त्रालयको प्रणाली नबुझी आएका थिएनन्’ ती पूर्व सचिव भन्छन्, ‘अर्थ मन्त्रालय अरू मन्त्रालय चलाएजस्तो हैन भन्ने कुरा राजनीतिक नेतृत्वले नबुझे समस्या त पर्छ नै ।’

अर्थ मन्त्रालयभित्रैबाट आए पनि काँचो अनुभवमै बीचमा अर्थसचिव बन्दा के हुन्छ भन्ने शिक्षा मधु मरासिनीबाटै लिन सकिने उनले बताए । अझ प्रधानमन्त्री र अर्थमन्त्रीलाई विश्वासमा लिएर मुलुक र प्रणालीका लागि आवश्यक निर्णय लिनुपर्ने व्यक्ति ‘गणेश प्रवृत्ति’का भए परिणाम घातक हुनसक्ने उनको टिप्पणी छ ।

‘चलखेल नगरी बस्नै नसक्ने, हैन, हुँदैन, मिल्दैन, सकिंदैन भन्न नसक्नेहरू अर्थ मन्त्रालयमा जानै हुँदैन’ ती पूर्व सचिव भन्छन्, ‘चुनावी वर्षमा त झन् यस्तो पौंठेजोरी धेरै खेल्नुपर्छ । सरकारले जे पनि ‘हुन्छ हजुर’ भन्ने सचिव खोजेको हो भने चाहिं पुष्कर सबभन्दा योग्य मान्छे हो ।’

Copy link
Powered by Social Snap