२०८१ बैशाख १३

बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?




प्रविधिको विकास र  विस्तारसँगै मोबाइलमा बालबालिकाको पहुँच बढेको छ । अहिले अधिकांश बालबालिकाले मोबाइलमा विभिन्न किसिमका भिडियो गेम खेल्ने गर्छन् । गेमप्रति उनीहरुको लत नै लागेको छ । बालबालिका भिडियोका गेमका लागि मोबाइलमा घण्टौं घोत्लिने गरेका छन् ।

यति मात्रै होइन, कतिपय बालबालिकाले खेलकै लागि आपराधिक क्रियाकलाप समेत गर्ने गरेको भेटिएको छ । यसरी बालबालिकालाई भिडियो गेमले गाँजिरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई कसरी यसबाट टाढा राख्ने भन्ने विषयमा अभिभावकले सोच्न जरुरी छ ।

लामो समयसम्म बालबालिका मोबाइलमा घोत्लिंदा उनीहरुलाई हानी गर्ने त छँदैछ, अभिभावकलाई समेत तनाव हुन्छ ।



Advertisement



बालबालिका मोबाइलमा हिंस्रक गेम किन खेल्छन् ?

बालबालिकामा नयाँ नयाँ भिडियो गेम खेल्ने चाहना हुन्छ । जसमा उमेर र पारिवारिक माहोलले महत्वपूर्ण भूमिका खेल्छ । उनीहरु नयाँ नयाँ गेम खेलेर आफू जित्न चाहन्छन् भने अरुलाई हराउन आनन्द महसुस गर्छन् । भिडियो गेमको दुनियाँमा आफ्नो नाम होस् र मैले जसरी पनि जित्नुपर्छ भन्ने भावनाको विकास हुन्छ । कसैदेखि रिस उठ्दा भडास निकाल्न पनि बालबालिका हिंस्रक भिडियो गेम खेल्न थाल्छन् ।

कडाइ गर्न उमेर तय गर्नु समाधान हुन्छ ?

बालबालिकालाई मोबाइल तथा भिडियो गेमको लतबाट छुट्कारा दिलाउन अभिभावक कठोर बनेर मात्रै हुँदैन । अहिले सञ्चार र प्रविधिको युग हो । जहाँ पढाइलेखाइ समेत मोबाइलबाट नै हुने गर्छ ।

कुनै पनि कुराको लत बस्न उमेर चाहिंदैन । आफ्ना बालबालिकाले के कस्तो गरिरहेका छन् ? उनीहरुका क्रियाकलाप सही छन् वा छैनन् भन्ने कुरा थाहा नपाएर समस्या झन् बढ्दै गएको छ ।

यति मात्रै होइन अभिभावक साक्षर नहुँदा र प्रविधिको दुरुपयोग भएमा यसले गर्न सक्ने असर आँकलन गर्न नसक्दा बालबालिका मोबाइल र भिडियो गेममा झुम्मिरहेका छन् ।

बालबालिकालाई हिंस्रक भिडियो गेमबाट छुट्कारा दिलाउन साथीको व्यवहार गरी उनीहरुलाई घरमा एक्लो हुनबाट बचाउनुपर्छ । एक्लोपनका कारण धेरै बालबालिका भिडियो गेमको शिकार भइरहेका छन् ।

भिडियो गेमको लत लागेको कसरी थाहा पाउने ?

जसरी हामी घरपरिवारका सदस्यलाई नयाँ गाडी किन्दा साधनका साथै आफ्नो सुरक्षाबारे सम्झाइबुझाइ गर्छौं, ठीक त्यसैगरी बालबालिकालाई मोबाइल दिंदा पनि सम्झाउनुपर्छ । उनीहरुलाई मोबाइलमा कम भन्दा कम समय बिताउन सम्झाउनुपर्छ ।

सकेसम्म बालबालिकाको बानी सुधारका लागि मोबाइल चलाउनेबारे नियम बनाउनुपर्छ । जसमा बालबालिकालाई पनि सहभागी गराउनुपर्छ । बालबालिकालाई सहभागी गराउँदा उनीहरुमा जिम्मेवारीको भाव पैदा हुन्छ ।

कुनै चीज लामो समयसम्म प्रयोग गर्दै गएपछि लत बस्छ । तर लत बस्दा बालबालिकामा केही परिवर्तन देखिन थाल्छ । जस्तै, बालबालिकाको सुत्ने समय, खाने–खेल्ने समय र सामान्य भन्दा फरक दैनिकी हुन्छ । यस्तो बेला उनीहरुलाई नम्र व्यवहारमा त्यसले गर्ने असर प्रभावबारे बुझाउन सक्नुपर्छ ।

मोबाइल गेमको लत तीव्र गतिमा किन बढ्दैछ ?

भिडियो गेमको अनुभव यति नयाँ हुन्छ कि यसले बालबालिकालाई अर्को दुनियाँमा प्रवेश गरेको आभास दिलाउँछ । गेम खेल्दा बालबालिकालाई आफ्नो मन पर्ने सामग्री छान्न, डिजाइन गर्न र स्वस्फूर्त रुपमा अगाडि बढ्ने मौका दिन्छ । जसमा कसैले रोकटोक गर्दैन ।

लामो समयसम्म भिडियो गेम खेल्दा खेलमा देखेका क्यारेक्टरले बालबालिकाको मन मस्तिष्कमा गहिरो छाप छाड्छन् । जसलाई उनीहरुले आफूसँग तुलना गर्छन् । यसरी बालबालिकामा स्क्रिनको लत बस्दै जान्छ ।

बालबालिकाको व्यक्तित्वमा पार्ने असर

मानिसको शारीरिक र मानसिक विकास एकसाथ हुनुपर्छ । तर भिडियो गेमले बारम्बार हिंस्रक विषयवस्तु प्रदर्शन गरेर बालबालिकाको नाजुक मनमस्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

लामो समय भिडियो गेम खेल्ने क्रममा बन्दुक चलाउँदा, अरुलाई मार्दा र आक्रमण  गर्दा बालबालिकामा आक्रामक भावना पैदा हुन्छ भने उनीहरुको मनबाट भावना कमजोर हुँदै जान्छ ।

यसरी बालबालिका लामो समयसम्म भिडियो गेममा घोत्लिंदा उनीहरुको खाने–सुत्ने समय पनि तलमाथि हुन्छ । जसकारण उनीहरु शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा समेत कमजोर हुन्छन् ।

Copy link
Powered by Social Snap