२०८० चैत्र १५

एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?




काठमाडौं । नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आज हुँदै छ । आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको छुट्टाछुट्टै प्यानलसहित उमेदवारी  रहेको छ । अध्यक्ष पदका लागि शेर्पा र नेम्वाङ समूहसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत चुनावी मैदानमा रहेका छन् । स्वतन्त्र उमेदवार पौडेलको प्यानल भने छैन । 



Advertisement



चार वर्षअघिको निर्वाचनमा हाल फिफाबाट १० वर्ष प्रतिबन्धमा रहेका गणेश थापाको २१ वर्षे कार्यकालको चरम विरोध गर्दै ‘चेन्ज एन्फा अभियान’ मा लागेका शेर्पा र नेम्वाङले एउटै समूहबाट चुनाव जितेका थिए । तर, अहिले यस चुनावी मैदानमा शेर्पा र नेम्वाङ  एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् । तामझाका साथ उम्मेदवारी घोषणा गरेका दुवै पक्ष शनिबारदेखि मतदातालाई होटलमा राखेका छन्। शेर्पा पक्षले आफ्ना मतदातालाई शिवपुरीमा र नेम्वाङ पक्षले गोदावरीमा लगेर राखेको छ। आफ्ना मतदातालाई अर्को पक्षले प्रभाव र दबाबमा नपारोस् भन्नेमा दुवै पक्ष सजक देखिन्छन् । दुवैले आफ्नो पक्षको जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । 

अध्यक्ष पदमा तीन जना चुनावी मैदानमा रहँदा एक वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुला सदस्य पदका लागि ३५ र दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । 

शेर्पाको समूहबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, चार उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै,
१३ सदस्यका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनीष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रूपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट, टीका लामा र महिलातर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठ छन् । 

यसैगरी, नेम्वाङ समूहबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दर नरसिंह जोशीले उमेदवारी दिएका छन् भने
खुला सदस्यमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकासनारायण श्रेष्ठ, रविन्द्र चन्द, दीपेन्द्र धिमाल, प्रवीण सुवाल र तपेश्वरकुमार राउत तथा महिला सदस्यमा वृन्दा देवान र सरला श्रेष्ठले उमेदवारी दिएका छन् ।

 निर्वाचन बूढानीलकण्ठस्थित पार्क भिलेजमा हुँदै छ । 

Copy link
Powered by Social Snap