२०८१ बैशाख २२

प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको हितमा छ : प्रवक्ता महत




काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नेपालको हितमा रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर किन जान लागेको भनेर आशंका गर्नु गलत सोचको परिणाम भएको टिप्पणी गरे ।



Advertisement



रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले अमेरिकी राष्ट्रपतिबाटै नेपालका प्रधानमन्त्रीलाई विरलै आमन्त्रण हुने गरेको र प्रधानमन्त्री देउवा अमेरिकी राष्ट्रपतिकै आमन्त्रणमा जान लागेकाले त्यो नेपालको लागि हितकर हुने बताए ।

‘हाम्रो प्रधानमन्त्रीलाई अमेरिकाको राष्ट्रपतिले आमन्त्रण गर्नुभएको छ । हाम्रो कुनै पनि प्रधानमन्त्रीलाई राष्ट्रपतिको तहबाट आमन्त्रण भएको छैन । अहिले शेरबहादुर देउवालाई त्यस्तो निमन्त्रणा छ । पहिले पनि उहाँलाई नै त्यस्तो आमन्त्रण गरिएको थियो । यो त खुसीको कुरा हुनुपर्ने हो,’ उनले भने, ‘अमेरिकाजस्तो देशले उच्च सम्मान दिइरहेको छ । उहाँले त्यहाँ गएर नेपालकै लागि कसरी बढीभन्दा बढी सहयोग ल्याउने भनेर पहल गर्ने हो । कसरी विकासका योजना ल्याउने भन्ने कुरा हो । त्यसमा पनि किन जान लाग्नुभएको हो ? जानु हुँदैन भनेर प्रश्न गर्नु गलत हो ।’

पूर्वपरराष्ट्रमन्त्री रहेका महतले कांग्रेसले सबै छिमेकी र मित्रराष्ट्रहरूलाई समान ढंगको व्यवहार गर्ने गरेको बताए । ‘हामी त अमेरिकाले मात्रै होइन, चीनले बोलाए पनि जान्छौँ, भारतले बोलाए पनि जान्छौँ । यो देशको लागि सहयोग जुटाउने कुरा हो, त्यसैले यस्तो कुरामा राजनीति गर्नु राम्रो होइन,’ नेता महतले एमाले नेताहरूलाई लक्षित गर्दै भने, ‘हामी उहाँहरू जस्तो छिमेकीका सामु लम्पसार पर्ने तर जनताको बीचमा चाहिँ ठूलो राष्ट्रवादी भनेर प्रचार गर्दैनौं ।’

उनले नेपालमा एमसीसी विकासे परियोजना भए पनि पहिले एमसीसीको नाममा बबन्डर मच्याउने काम भएको बताए ।

‘हिजो उहाँहरूले परियोजना स्वीकृत गर्नुभयो, फेरि एमसीसी राष्ट्रघाती भनेर बबन्डर मच्याउने काम पनि उहाँहरूले नै गर्नुभयो । अब एसपीपीमा पनि उहाँहरूले त्यस्तै हत्कन्डा गर्न खोज्नुभएको थियो । चुनावको मुखमा एकपटक फेरि राष्ट्रियताको झटारो हानौं न त भनेर सोच्नुभएको थियो होला । तर, अहिले तथ्य बाहिरिएको छ, एसपीपी उहाँहरूकै पालामा अघि बढेको रहेछ,’ उनले भने, ‘एसपीपी अहिले प्रचारमा आएको जस्तो सैन्य गठबन्धनको सम्झौता होइन । तर, छिमेकीहरूलाई त्यस्तो आशंका छ भने हामी त्यो शंका उत्पन्न हुने अवस्था आउनै दिँदैनौँ । त्यसकारण प्रधानमन्त्रीले प्रस्ट पारिसक्नुभएको छ, हामी एसपीपीको पक्षमा छैनौं ।’

Copy link
Powered by Social Snap