२०८१ जेष्ठ ६

एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोगसहितका निकायलाई पत्र लेखेर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला उनीहरू जनप्रतिनिधिमा चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न भनेको छ । 



Advertisement



कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारी अख्तियारको निलम्बनमा परेका छन् ।

कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन रहेको अख्तियारले जनाएको छ । अघिल्लो कार्यकालमा वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो ।

“मुद्दाको किनारा नभएसम्म स्वत: निलम्बनमा रहने व्यवस्था अनुसार हाल मोहन्याल गा.पा.का. अध्यक्ष पदमा निर्वाचित देवीदत्त उपाध्यायको हकमा निजविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वत: निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ,” अख्तियारले भनेको छ । 

यस्तै, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी पनि मुद्दाको टुंगो नलागेसम्मका लागि निलम्बनमा परेका छन् । अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई पनि अख्तियारले निलम्बन गर्न भनेको छ । सुलक्षण माविको प्रध्यानाध्यापक रहँदा विद्यालयको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल पनि निलम्बन परेका छन् । कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । उनीविरुद्धको मुद्दा विचाराधीन छ ।

Copy link
Powered by Social Snap