२०८१ बैशाख १२

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित




काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ ।



Advertisement



मंगलबार मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ४० रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० विकेटले हारेपछि नेपालको विश्वकप खेल्ने सम्भावना कमजोर बनेको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । आज थाइल्यान्डसँग हारेपछि नेपालको सम्भावना लगभग समाप्त भएको छ ।

९० रनको लक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सृष्टि जैशीले सबैभन्दा धेरै अविजित सात रन बनाइन् । साना प्रवीणले ६ रन जोडिन । अनु कठायतले पाँच रन बनाउँदा अञ्जली विश्वकर्मा, कृतिका मरासिनी र मनीषाकुमारी उपाध्यायले समान तीन रन बनाए ।

थाइल्यान्डकी नानथिता बुनसुखानले तीन विकेट लिइन् । थन्यालक चुमनन र पोर्नाफा सिहोइले एक/एक विकेट लिए ।

त्यसअघि, थाइल्यान्डका लागि थिपात्चा पुथवोङले २०, ओपनर बेन्थिदा लीफाथानाले १९, सुवाना खिओतोले १६ रन बनाए । फन्निता मायाले सात र नान्नाफट चाईहानले ६ रन जोड्दा सुनिदा चतुरोङरातना सात रनमा अविजित रहिन् ।

नेपालकी मनीषाकुमारी उपाध्याय र कप्तान कृतिका मरासिनीले समान दुई विकेट लिए । स्नेहा महराको नाममा एक विकेट रह्यो ।

नेपालले आज भुटानविरुद्ध खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गरेको थियो । भुटानविरुद्ध खेलेको टिममा किरन कुँवर र एलिसा यादवको स्थानमा अञ्जली विश्वकर्मा र रञ्जु श्रेष्ठलाई टोलीमा समावेश गरिएको थियो ।

Copy link
Powered by Social Snap