२०८१ बैशाख ७

दरबार हत्याकाण्डमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने

काठमाडौं । दरबार हत्याकाण्ड र तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने भएको छ ।

निर्माण कम्पनी आशुसेन फिल्म्सले पटकथा लेखन अन्तिम चरणमा पुगेको र आगामी वर्षको सुरुदेखि अडिसन र कार्यशाला सुरु हुने जनाएको छ । फिल्म निर्माण घोषणाको पाँच वर्षपछि निर्माता सन्तोष सेनले फिल्म निर्माण कार्य अघि बढेको बताएका हुन् ।


Advertisement


२०५८ साल जेठ १९ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको वंशनाश भएको थियो । उक्त घटना भएको आज २१ वर्ष पुगेको छेकोमा फिल्म निर्माता सेनले प्रि–प्रोडक्सन कार्य अघि बढेको जनाए ।

‘स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ र आउँदो वर्षको सुरुवातदेखि सेट डिजाइन, वर्कसप र अडिसन कार्य सुरु हुनेछ,’ सेनले भने, ‘अहिले हाम्रै टिमले तथ्य केलाउने र घटनासँग सम्बन्धित पात्रलाई भेटेर कुरा गर्ने कार्य गरिरहनुभएको छ ।’

विवेककुमार शाहद्वारा लिखित पुस्तक ‘मैले देखेको दरबार’मा आधारित भएर फिल्म निर्माण गर्न लागिएको हो । आशुसेन फिल्म्सले उक्त फिल्मको प्रतिलिपि अधिकार पनि लिइसकेको छ ।

निर्माता सेनका अनुसार यसअघि फिल्म निर्माण घोषणा भए पनि उक्त पुस्तकमा आधारित केही तथ्य र घटनासँग सम्बन्धित पात्रको बयानमा भिन्नता देखिएकाले निर्माण कार्य रोकिएको थियो । यतिबेला भने तथ्यलाई केलाउने र यथार्थ जुटाउने प्रयास भइरहेको जनाइएको छ ।

सेनले भने, ‘त्यतिबेला घोषणा गरे मात्र फिल्म बन्छ भन्ने मनस्थितिमा थियौं । त्यतिबेला हामी सतही ज्ञानमा मात्र थियौं । तथ्य बुझ्दै जाँदा गहिरो गरी अघि बढ्नुपर्ने जरुरी देखियो । अब विश्वले हेर्ने र आत्मसात गर्ने ढंगबाट अघि बढ्छौं ।’

त्यतिबेला फिल्म घोषणा गर्दा केही पक्षबाट दबाब आएको समेत सेनले खुलासा गरे । तर कुन पक्षबाट दबाब आयो भन्नेबारेमा उनले खुलाएनन् । ‘तत्काललाई उक्त कुरा खुलाउनु उचित छैन,’ सेनले भने, ‘अब हामी, यथार्थपरक ढंगबाट अघि बढ्छौं ।’

प्रारम्भमा ५ करोड ५० लाखको बजेट बताइए पनि लागतमा दोब्बर वृद्धि हुने सेनले बताए । दीपेन्द्रको भूमिकामा देखिन लागेका अभिनेता प्रदीप खड्काले पात्रको स्वरुपमा आफूलाई बदल्न तौल बढाउनेदेखि आफूलाई अनुसन्धानमा होम्ने तयारी गरेका थिए ।

प्रदीपबाहेक अन्य कलाकार भने अडिसनबाटै लिइने भएको छ । नेपाल, बेलायत र अमेरिकामा छायांकन गर्ने बताइएको छ । तत्कालीन राजा दीपेन्द्र छोटो समयका लागि राजा घोषित भएका थिए । अर्धचेत अवस्थामै उनलाई राजा घोषित गरिएको थियो । दरबार हत्याकाण्डको तेस्रो दिनमा उनलाई मृत घोषणा गरियो ।

Copy link
Powered by Social Snap