२०८१ जेष्ठ १

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयरको घोषणा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र आफ्नो नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । 


Advertisement


१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रूपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे । 

“कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निकै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,” मेयर कार्कीले भने, “खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण माध्यम हो । हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौँ ।”

मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै खेलकुदका पूर्वाधारहरू बनाएर नगरपालिकालाई खेलकुद नगरका रूपमा स्थापित गर्ने बताए । 

“सरकार, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र विभिन्न राष्ट्रिय खेल संघहरू रंगशाला, कभर्डहल र एकेडेमी बनाउनका लागि ठाउँ भएन भनेर गुनासो गरिरहेका छन् । हामीसँग नगरपालिकाभित्र थुप्रै खाली जग्गाहरू छन्, जहाँ खेलकुदका पूर्वाधार बनाएर कागेश्वरी मनोहरालाई खेलकुद सहरका रूपमा चिनाउन सकिन्छ,” उनले थपे, “कागेश्वरी मनोहरा खेलकुदकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिनेछ ।”

मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा खेलकुदका आधुनिक तथा सुविधासम्पन्न एकेडेमी र रंगशाला तथा कभर्डहलहरू बनाएर त्यसको मुनाफा सबै पक्षलाई बाड्ने मोडलमा काम गर्ने बताए । 

Copy link
Powered by Social Snap