२०८१ जेष्ठ १

महेन्द्रनगरले जित्यो धनगढी सुपर लिग

धनगढी । धनगढी सुपर लिग ट्वान्टी २० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । शनिबार धनगढीको लिटल फ्लावर क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगर च्याम्पियन बनेको हो ।

विजेता महेन्द्रनगरले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता लिटल फ्लावरले एक लाखमा चित्त बुझायो ।

शनिबार कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । जवाफमा लिटल फ्लावरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो ।


Advertisement


लिटल फ्लावरका दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले १३ र सन्दीप खत्रीले १२ रन जोडे ।

बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले चार विकेट लिए । हेमन्त धामी र विपीन धामीले समान दुई/दुई तथा राहुल भण्डारी र विकास आग्रीले समान एक/एक विकेट लिए ।

त्यसअघि, महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । महेन्द्रनगरका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३/१३ रन बनाए ।

बलिङतर्फ लिटल फ्लावरका कृष्ण कार्कीले तीन, दीपक बोहरा र कुशल रुपाखेतीले दुई/दुई तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान एक’एक विकेट लिए । फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ सन्तोष भट्ट घोषित भए ।

बोहरा सर्वोत्कृष्ट
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढीकै हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडी समेत बने । उनीहरूले जनही सात हजार ५०० रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

गएको फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका विभिन्न ६ क्लबहरू बुंगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब कैलाली र कैलाली जिल्ला क्रिकेट क्लबको सहभागिता थियो ।

Copy link
Powered by Social Snap