२०८१ बैशाख २१

ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो र? : मन्त्री झाक्री

सहरी विकासमन्त्री रामकुमारी झाक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छन्।


Advertisement


मन्त्री झाक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरूद्ध पारेर सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाइन्।

शुक्रबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएको कतिपय अभिव्यक्ति निराधार र झूटो रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधि सभा अवरूद्ध पारेको थियो। 

सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो र भनि प्रश्न समेत गरिन्।

उनले भनिन्, ‘के डेमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला। फेरि संसदका आफ्ना मर्यादाहरू पनि छन्। मर्यादाभित्र त सबै बस्नुपर्छ। तर उहाँलाई प्रश्न गर्न नहुने प्रश्नरहित व्यक्ति हो र ? प्रश्नरहित व्यक्ति होइन। त्यसो भएको हुनाले त्यसको जवाफ अरू ढंगले पनि दिन सकिन्थ्यो। नेताहरूले लामोलामो वक्तव्य दिँदा सांसदहरुले आफ्नो विचार राख्ने काम बाँकी नै छ। त्यसैले यसरी अवरोध गर्नु राम्रो होइन।’

मन्त्री झाक्रीले संसदमा मर्यादाभित्र सबै रहनुपर्ने पनि स्पष्ट पारिन्।

Copy link
Powered by Social Snap