


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् । रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नुबाहेक कुनै काम नगरेको आरोप लगाए ।
Advertisement


उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको आरोप लगाए । रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबी गरे ।

एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने जिकिर गरे । मधेस प्रदेश सरकारले सङ्घीयता र समावेशीताको आधारमा केही गर्न नसकेको आरोप लगाउँदै एमालेको नेतृत्वमा देश र मधेस समृद्ध हुने बताए । आजै अध्यक्ष ओलीले एमालेद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चुनावी सभासमेतलाई सम्बोधन गरेका थिए ।






