२०८२ मंसिर २३

देउवा सभापतिको हैसियतमा चुनावी प्रचारमा : सरकारी स्रोतको प्रयोग नगर्ने गरी आयोगले दियो अनुमति 

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न बुधबार विराटनगर पुगेका छन् । पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सार्वजनिक गरेको साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिनको सभा उद्घाटनका लागि उनी त्यहाँ पुगेका हुन् ।


Advertisement


कांग्रेसको चुनावी कार्यक्रमअन्तर्गत यही वैशाख २२ गते भरतपुर, २३ गते काठमाडौं, २४ गते बुटवल, २४ गते तनहुँको दमौली र धनुषाको जनकपुरमा सभाको आयोजना हुनेछ । वैशाख २५ गते पोखरा र तुलसीपुर, २६ गते कैलालीको धनगढी र २७ गते डडेलधुरामा सभा हुनेछ । ती सभालाई देउवाले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीलाई पार्टीको प्रचार गर्न निर्वाचन आचारसंहिताले रोक्छ । आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल तथा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने उल्लेख छ ।

सोही प्रावधानले प्रचारमा रोक्ने भएपछि देउवा पार्टी सभापतिको हैसियतमा कार्यक्रममा जानेछन् । उनलाई निर्वाचन आयोगले पार्टीको पदाधिकारीको हैसियतमा त्यस्ता सभामा जान अनुमति दिएको छ ।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराई  भन्छन्, “सरकारी स्रोत–साधनको प्रयोग नगरी प्रधानमन्त्रीका रूपमा होइन कि दलको पदाधिकारीको हैसियतमा जान आयोगले अनुमति दिएको छ । त्यस हैसियतमा जाँदा आचारसंहिता लाग्दैन ।”

उनका अनुसार अनुमति माग्न आएका मन्त्रीहरूको हकमा पनि अनुमति दिइनेछ । निजी सवारी र खर्चमा जान पाइने गरी अनुमति दिइने उनले बताए ।

“दलको पदाधिकारीका रूपमा जानका लागि अनुमति माग्न आउनुभएका मन्त्रीहरूका हकमा पनि आयोगले अनुमति दिन्छ,” उनले भने, “उहाँहरूले सरकारी स्रोत–साधन, रिसोर्स प्रयोग गरेर दलीय कार्यक्रममा भाग लिन पाउनु हुन्न । विशुद्ध निजी खर्चमा आफ्नो गाडी प्रयोग गरेर जान आयोगले अनुमति दिन्छ ।”

Copy link
Powered by Social Snap