२०८३ कार्तिक १२

एसियाली खेलकुदमा पब्जीसहित ६ इस्पोर्ट्समा खेलाडी पठाउन नेपालले गर्दैछ तयारी

चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा  ३७ खेलमा प्रतिस्पर्धा हुँदैछ।


Advertisement


एसियाली देशहरूका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाडमा नेपालले अहिलेसम्म कुन-कुन खेलमा प्रतिस्पर्धा गर्ने टुंगो लागिसकेको छैन।

अन्य खेलको कुनै तयारी नभए पनि नेपालले यसपटकदेखि थप गरिएको इस्पोर्ट्सका लागि छनोट सुरू गरिसकेको छ।

एसियाडमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको इस्पोर्ट्सलाई इन्डोनेसियामा सन् २०१८ मा भएको एसियाडमा प्रदर्शनी खेलको रूपमा राखिएको थियो।

यसपटक भने यसलाई आधिकारीक खेलको मान्यता दिइएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) ले इस्पोर्ट्सलाई माइन्ड स्पोर्ट्स विधामा राखेको छ। माइन्ड स्पोर्ट्समा इस्पोर्ट्सहित चेससहितका खेल छन्।

कम्प्युटर/मोबाइलको सहायताले भर्चुअलरूपमा खेलिने इस्पोर्ट्समा ८ खेलमा प्रतिस्पर्धा हुनेछ। जसमा नेपालले ६ खेल लागि राष्ट्रिय छनोट गरिरहेको छ।

नेपालले पब्जी मोबाइल, डोटा-२, हर्थस्टोन, फिफा अनलाइन-४, एरेना अफ भालोर र ड्रिम अफ थ्री किङडम्स-२ का लागि छनोट गरिरहेको छ।

फिफा र हर्थस्टोनमा एक जना खेलाडी हुनेछन् भने बाँकी चार खेल समूहगत खेल हो।

नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा) का अध्यक्ष सुरज डंगोलका अनुसार आगामी वैशाख अन्तिमसम्म चल्ने छनोटमा नेपालभरका ६ सय ४४ खेलाडीहरूले भाग लिएका छन्।

छनोट जित्ने खेलाडीहरूले दक्षिण एसियाली क्षेत्रीय छनोटमा भाग लिने अध्यक्ष डंगोलले बताए।

ओएसीले अन्य खेलका लागि नेपाललाई कोटा दिने भए पनि इस्पोर्ट्स खेल्नका लागि भने छनोट पार गर्नु पर्ने नियम बनाएको छ।

त्यहीअनुसार छनोट भएका इस्पोर्ट्सका खेलाडीले आगामी जुन-जुलाईमा हुने क्षेत्रीय छनोटमा नेपालको झन्डामा भर्चुअल युद्ध लड्नेछन्।

क्षेत्रीय छनोटबाट नेपालले एसियाड खेल्न पाउने वा नपाउने पक्का हुनेछ।

‘एसियाडमा इस्पोर्ट्सका लागि कुन क्षेत्रबाट कति खेलाडी हुने भनेर अहिले नै पक्का भइसकेको छैन। कोटा निर्धारण गरेपछि क्षेत्रीय छनोटको वरीयताको आधारमा एसियाडमा खेलाडी हुनेछन्,’ अध्यक्ष डंगोलले भने।

नेपालले दक्षिण एसियाली छनोटमा पब्जी, हर्थस्टोन र डोटा २मा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

‘पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा यी विधामा हामीले राम्रो प्रदर्शन गरेका छौं। हामी पब्जीमा दक्षिण एसियामा राम्रो अवस्थामा छौं। हर्थस्टोनमा पनि भारतमा गएर पुरस्कार जितेका छौं,’ अध्यक्ष डंगोलले भने।

पछिल्लो समय नेपालका खेलाडीले पब्जीलगायतका अन्तर्राष्ट्रिय इस्पोर्ट्स खेलमा राम्रो खेल्दै लाखौं पुरस्कार समेत जितेका छन्।

नेपालमा बुझाउनै गाह्रो

इस्पोर्ट्सलाई नेपालमा बुझाउन गाह्रो भएको अध्यक्ष डंगोलले बताए। उनले कुनै कुरामा बढी लाग्न नहुने बताउँदै इस्पोर्ट्स लत नबनाई निश्चित समय दिएर खेल्नु पर्ने बताए।

‘हामीले अहिले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग तीन-चार चरणमा छलफल गरिसक्यौं। उहाँहरूलाई इस्पोर्ट्सको बारेमा बुझाउन कोशिस गरिरहेका छौं.’ अध्यक्ष डंगोलले भने, ‘यो दिमागको खेल हो। एसियाली खेलकुदले नै माइन्ड गेममा राखेको छ। ओलम्पिकमा समेत राख्नका लागि छलफल भइरहेको छ।’

एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सके जनस्तरमा सकारात्मक सन्देश जाने डंगोलको विश्वास छ।

‘हाम्रो लक्ष्य एसियाली खेलकुदमा छनोट भएर राम्रो प्रदर्शन गर्ने हो। राम्रो खेल्न सक्यौं भने सकारात्मक सन्देश जान्छ,’ उनले भने।

राष्ट्रिय छनोट गरेपछि दक्षिण एसियालीस्तरको छनोटका लागि तयारी थाल्ने अध्यक्ष डंगोलको भनाइ छ। त्यसका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ।

तयारी खर्चको अपेक्षा उनले अहिले सरकारी तवरबाट राखेका छैनन्।

‘अहिले हामी सहयोग उठाएर तयारी गर्ने योजना बनाइरहेका छौं,’ उनले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap