२०८१ बैशाख १३

प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी: भिखमंगाजस्तो दुनो लिएर हिँडेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको पाँच वर्षे सरकारलाई बीचैमा ढालेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अहिले भिखमंगाजस्तो गरी दुनो लिएर हिँडेको बताएका छन्।


Advertisement


वामगठबन्धन हुँदै एमाले र माओवादी एकीकरण गरेर नेकपा बनेपछि ओली प्रधानमन्त्री बनेका थिए। तर प्रतिनिधि सभा विघटनपछि अदालतको आदेशमा नेकपा खारेज भई एमाले र माओवादी पुन अस्तित्वमा आएका थिए।

नेकपा हुँदाका अवस्थाका कुरा निकाल्दै आज ओलीले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै आफ्नै पार्टीको हुँदा पनि प्रचण्ड-माधव नेपालले काम गर्न नदिएको र सरकार ढालेको बताए।

दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि अदालतको परमादेशबाट ओली प्रधानमन्त्री हटेर गत असार २९ मा शेरबहादुर देउवा गठबन्धनबाट प्रधानमन्त्री बनेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति टिप्पणी गर्दै आज ‌ओलीले बुद्धिजिवी परिषदको महाधिवशेनमा भने, ‘यिनीहरूले गठबन्धन कायमै रहनुपर्छ भनेर किन भनिरहेका छन्?’

प्रचण्ड र माधव नेपालले पाँचदलीय गठबन्धनलाई चुनावसम्म कायमै राख्ने बताइरहेका छन्। गठबन्धन बैठकले पनि चुनावसम्म सहकार्य गरेर जाने निर्णय गरिसकेका छन्।

‘किन यिनीहरूले गति छाडे? आन्दोलन, पार्टी र विकासविरूद्ध लागेर ५ वर्ष सरकार चल्नेमा बीचैमा छाडेर अस्थिरता ल्याएका थिए,’ प्रचण्ड-माधवप्रति कटाक्ष गर्दै ओलीले भने, ‘यिनीहरूलाई दक्षिणपन्थी सरकार नबनाई नहुने? आफ्नै पार्टीको प्रधानमन्त्री थियो, मन्त्री थिए। तर प्रधानमन्त्रीलाई यिनीहरूले बसिखान दिएका थिए? अहिले भिखमंगाजस्तो दुनो लिएर हिँडेका छन्।’

Copy link
Powered by Social Snap