२०८१ बैशाख ४

नेपाल लगातार चार खेलमा विजयी, उपाधिका लागि पिएनजीसँग भिड्ने 

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।


Advertisement


आज कीर्तिपुरस्थित त्रिवि  मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्‍यो। यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो।

मलेसिया पराजित भएसँगै पिएनजी फाइनलमा पुग्न सफल भयो। अब नेपाल र पिएनजीबीचको फाइनल आगामी सोमबार हुनेछ। 

शनिबार कीर्तिपुर मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो। मलेसियाका लागि कप्तान अहमद फाइजले सबैभन्दा बढी ३३ रन जोडे।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानले ३ विकेट लिए। कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। 

कुशल भर्तेल र रोहित पौडेलले १-१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको शतकमा ५ विकेटको क्षतिमा २२३ रन जोड्यो। 

दीपेन्द्रले नटआउट ११० रन जोडे। उनले ५७ बलमा १० चौका ६ छक्का प्रहार गरे। यो नेपाली ब्याट्सम्यानले टी-२० प्रहार गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो।

यसअघि उच्च स्कोरको रेकर्ड पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो। उनले भुटानविरूद्ध १०७ रन प्रहार गरेका थिए।

नेपालको यो टी-२० मा चौथो शतक हो। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल  र कुशल भुर्तेलले टी-२० मा शतक हिर्काएका थिए। 

अघिल्लो साता एकदिवसीय खेलमा शतक प्रहार गरेका दीपेन्द्रले टी-२० पहिलो शतक हिर्काए। 

यो नेपालले टी-२० मा बनाएको तेस्रो ठूलो स्कोर हो। यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध २३८ र भुटानविरूद्ध २३६ रन जोडेको थियो।

नेपालका लागि दीपेन्द्रसँगै रोहित पौडेलले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले ३४ बलमा ५१ रन जोड्ने क्रममा ५ चौका हिर्काए। 

आदिल अन्सारीले ९ बलमा १४ रन, कुशल भुर्तेलले १२ रन, आसिफ शेखले १८ रन र आरिफ शेखले २ रन जोडे।

Copy link
Powered by Social Snap