२०८१ बैशाख १३

कस्तो होला कांग्रेसको चुनावी तालमेलको मोडल?

वैशाखमा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसले सत्तारूढ पाँच दलीय गठबन्धनलाई सँगै लैजाने तयारी गरेको छ।

२०७४ सालमा जितेका ठाउँ लिएर अन्यत्र भने गठबन्धन गर्दै चुनावमा जाने गृहकार्य कांग्रेसको छ।


Advertisement


७५३ तहमध्ये ०७४ मा कांग्रेसले २५३ तह मात्रै जितेको थियो।

पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने पक्षमा कांग्रेस छ।

गत शुक्रबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गाउँ-गाउँमा कांग्रेसको अवस्थाबारे वस्तुगत रूपमा विवरण पेश भइरहेका छन्।

स्थानीय चुनाव केन्द्रित अभियानका लागि गाउँ पुगेका केन्द्रीय सदस्यहरूले त्यहाँ ०७४ को चुनावमा कांग्रेसको अवस्था र अहिलेको अवस्थाबारे समेटेर विवरण ल्याएका छन्।

उनीहरूले जारी केन्द्रीय समितिमा तथ्यांकगत रूपमा कांग्रेसका अवस्थाबारे जानकारी गराएका छन्। कतै एक्लै चुनाव जित्न सकिने त कतै जित्नका लागि अरू दलसँग सहयोग लिनुपर्ने वितरण आएका छन्।

कांग्रेसले एक केन्द्रीय सदस्यलाई बढीमा ५ मिनेटभित्र आफू गएको ठाउँको अवस्था पेश गर्न समय दिएको छ।

गाउँ पुगेर फर्केका अधिकांश केन्द्रीय सदस्यहरू गठबन्धन गर्ने पक्षमा देखिएका छन् तर गठबन्धन गर्ने दलहरूसँग ‘धोका नदिने गरी प्रतिवद्धता गर्न लगाउनुपर्ने’ उनीहरूको सुझाव छ।

०७४ मा भरतपुर महानगरमा माओवादीकी नेता रेणु दाहाललाई कांग्रेसले भोट दिएको तर संघीय र प्रदेश चुनावमा माओवादीले एमालेसँग वाम एकता गर्दै चुनावमा जानुलाई कांग्रेसले ‘धोका’ का रूपमा लिएको छ।

साथै कमल थापासँग गठबन्धन गरे पनि झापामा राप्रपाले कृष्ण सिटौलालाई भोट नदिएकोले अब हुने गठबन्धनमा यस्तो दोहोरिन नहुनेमा नेतृत्व सचेत रहनु पर्ने केन्द्रीय नेताहरूले सुझाव दिएका छन्।

साथै केन्द्रीय सदस्यहरूले गठबन्धन गर्ने अधिकार स्थानीय पार्टीलाई नै दिनुपर्ने बताएका छन्। केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्थानीय चुनावमा गठबन्धन गर्ने हो भने निर्णय गर्ने अधिकार स्थानीय पार्टी समितिलाई दिनुपर्ने बताए।

‘स्थानीय तहमा गठबन्धन गर्ने हो भने त्यहाँको आवश्यकता र औचित्यका आधारमा गर्ने गरी निर्णय गर्ने अधिकार पार्टीका तल्ला समितिलाई नै दिइनुपर्छ,’ केन्द्रीय समिति बैठकमा उनले भने, ‘केन्द्रबाट गठबन्धनको निर्णय गर्नुभन्दा पनि जिल्ला र स्थानीय तहका पार्टी संरचनालाई नै निर्णय गर्न दिनु राम्रो र विधानअनुसार पनि हुन्छ।’

उनले उदाहरणका रूपमा हुम्लाको अवस्थाबारे बताएका थिए।

‘हुम्लामा कांग्रेस एकातिर, वाम शक्तिहरू अर्कोतिर हो,’ उनले भने, ‘जिल्ला-जिल्लामा अवस्था पृथक छ। सबै जिल्लालाई एकै नजरले हेर्न भएन। स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्न दिनु उपयुक्त हुन्छ।’

कांग्रेसका नेता रामचन्द्र पौडेलका अनुसार सत्तारूढ पाँच दलीय गठबन्धनलाई सँगसँगै लिएर जानुपर्ने अवस्थामा कांग्रेस छ।

‘पाँच दलीय गठबन्धन चुनावसम्मै लैजानुपर्ने अवस्था छ,’ सानेपामा पत्रकारहरूसँग उनले भने, ‘केन्द्रीय समितिले गठबन्धनबारे नीतिगत निर्णय गर्ला। कहाँ, को उठ्ने भन्नेबारे पछि नै निर्णय हुन्छ।’

कांग्रेस नेता सुजाता कोइरालाले पनि गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताइन्।

‘गठबन्धन गरेर नै कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री तथा राष्ट्रिय सभा सदस्य जितेको छ,’ सानेपामा पत्रकारहरूसँग उनले भनिन्, ‘चुनावसम्म गठबन्धनलाई लैजाने हो भने पार्टीलाई नै फाइदा हुने देख्छु।’

केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षका नेताहरूले भने गठबन्धन गर्न नहुने धारणा राखेका छन्। केन्द्रीय सदस्य प्रतिमा गौतमले गठबन्धन गर्दै जाने हो भने, ‘कांग्रेसको जिन नै क्रमश: नष्ट हुँदै जाने’ दाबी गरेकी थिइन्।

‘गठबन्धनको परम्पराले कांग्रेसको जिन नै नष्ट हुने खतरा देख्छु,’ उनले भनिन्, ‘कांग्रेस आफैं बलियो शक्तिका रूपमा देखा पर्नु पर्ने हो।’

उनले अरू दलहरूसँग तालमेल गरेर चुनावमा जाँदा भविष्यमा प्रभावकारी काम गर्न नसकिने पनि बताएकी थिइन्।

‘अरूको हातखुट्टा समाएर जाने हो भने कांग्रेस कमजोर शक्तिका रूपमा रहन सक्छ,’ उनले भनिन्, ‘बरू पार्टीभित्रकै आन्तरिक एकता बलियो बनाउनेतर्फ सोचौं।’

अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले गठबन्धन गर्ने कि नगर्ने अधिकार स्थानीय पार्टीलाई छोड्नुपर्ने बताए।

‘भरतपुर महानगरमा ०७४ मा पनि कांग्रेसले रूखमा भोट हाल्न पाएनन्। यसरी गठबन्धन गर्ने र छोड्दै जाने हो भने त पार्टी छिन्नभिन्न हुन्छ,’ उनले भने।

कांग्रेसका प्रवक्ता महतले भने पार्टीलाई फाइदा पुग्ने गरी केन्द्रीय समितिले चुनावी तालमेलको ढाँचा बनाउने बताए।

‘के गर्दा पार्टीले बढीभन्दा बढी सिट जित्छ त्यो मोडलअनुसार जाने हो,’ सानेपामा पत्रकारहरूसँग उनले भने, ‘केन्द्रबाट यसो गर्नुपर्छ भनेर निर्णय लाद्ने भन्ने कुरा हुन्न, केन्द्रीय समितिमा छलफल गरेर मोडल बनाउँछौं।’

जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय प्रतिनिधिले गठबन्धनका पक्षमा बोलेको उनले दाबी गरेका छन्।

‘कतिपय ठाउँमा एक्लै जितिन्छ भन्ने छ भने कतिपय ठाउँमा मिलेर जानुपर्ने हुन सक्छ,’ उनले भने, ‘गठबन्धन गरेरै जानुपर्छ भन्ने केन्द्रीय प्रतिनिधिहरूको मत छ। भोलिसम्म छलफल सकिएला अनि चुनावी तालमेलबारे कुन मोडलमा जाने भन्नेबारे छलफल गरी आवश्यक निर्णयमा पुग्छौं।’

प्रवक्ता महतका अनुसार पार्टीले धेरै सिट जित्ने मोडल अपाउने तयारी छ।

‘बढीभन्दा बढी सफलता हासिल गर्ने हो। कस्तोखाले ढाँचामा जाने भन्ने निर्क्यौल केन्द्रीय समितिबाट आउँछ,’ उनले भने, ‘आवश्यकताको सिद्धान्तका आधारमा गठबन्धनमा जाने हो। यो रणनीतिक विषय हो। के गर्दा पार्टीलाई फाइदा हुन्छ, त्यही मापदण्ड तय गरिन्छ।’

उनले गठबन्धनमा जानेबारे पार्टीभित्र छलफल भए पनि ठूलो विवाद नभएको बताए।

‘केन्द्रीय प्रतिनिधिले जिल्लामा जे देख्नुभयो त्यो यथार्थ विवरण पेश गर्नुभएको छ। उहाँहरूले कतै एक्लै जानुपर्ने त कतै मिलेर जानुपर्छ भन्ने खालका सुझाव पनि दिनुभएको छ,’ उनले भने, ‘समझदारीको ढाँचा कस्तो हुने, त्यसको सैद्धान्तिक ढाँचा सबैको सहमतिबाट निर्धारण गरिन्छ।’

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पनि गठबन्धनलाई कायमै राखेर चुनावमा जानेमा छन्। उनले गठबन्धनका दलहरूलाई उचित स्थान दिइने बताउँदै आएका छन्। 

कांग्रेसले आफूले यसअघि जितेका सिट सुरक्षित राखेर नेकपा एमालेले जितेका स्थानीय तहका सिटमा गठबन्धनबाट साझा उम्मेदवार बनाउने गरी छलफल अगाडि बढाएको छ। 

Copy link
Powered by Social Snap