२०८१ बैशाख २४

बलियो थाइल्यान्डसँग भिड्नुअघि प्रशिक्षक अलमुताइरी भन्छन्- नेपालले जितका लागि खेल्नेछ 

आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले अहिलेदेखि नै तयारी गरिरहेको छ।


Advertisement


तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई चरणमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना सार्वजनिक गरेका थिए।

सोही योजनाअनुरुप नेपालले माघमा मरिसससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको दुवै खेलमा नेपालले समान १-० को जित निकालेको थियो।

दोस्रो चरणमा नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। आगामी चैत १० मा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम सोमबार थाइल्यान्ड प्रस्थान गर्दैछ। कप्तान किरणकुमार लिम्बु माल्दिभ्सबाट र डिफेन्डर रोहित चन्द इन्डोनेसियाबाट थाइल्यान्ड पुग्नेछन्। 

नेपालले चैत १३ मा थाइल्यान्डको चोन बुरी एएफसीसँग अर्को अभ्यास खेल खेल्नेछ। दुवै खेल चोन बुरीमै हुनेछन्।

फिफा वरीयताको आधारमा नेपालभन्दा थाइल्यान्ड बलियो टिम हो। फिफा वरीयतामा थाइल्यान्ड ११२औं स्थानमा छ। नेपाल ५५ स्थान तल १६७औं स्थानमा छ।

थाइल्यान्डले पछिल्लोपटक गत जनावरी १ मा आसियन क्षेत्रको एएफएफ कपको फाइनलको दोस्रो लेगमा इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो।

सिंगापुरको कालाङमा भएको दोस्रो लेग २-२ गोलको बराबरीमा सकिएको थियो। डिसेम्बर २९ मा भएको पहिलो लेगमा ४-० ले विजयी भएको थाइल्यान्ड समग्रमा ६-२ ले विजयी हुँदै च्याम्पियन बनेको थियो।

थाइल्यान्ड उड्नुअघि नेपालका प्रशिक्षक अलमुताइरीले नेपालको तयारी राम्रो भएको बताए। 

‘हामीले यहाँ एक साताको अभ्यास गर्‍यौं। अब त्यहाँ ८ दिन बस्नेछौं। हाम्रो लागि थाइल्यान्डसँगको पहिलो खेल महत्वपूर्ण छ। किनभने थाइल्यान्डले इन्डोनेसियासँग खेलेको थियो अनि एसियन कप छनोटमा हाम्रो समूहमा इन्डोनेसिया पनि छ,’ अलमुताइरीले भने।

उनले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका खेलाडी टिममा उपलब्ध हुन नसकेकाले युवा खेलाडीलाई मौका दिएको बताए। विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुनिल बल, मनिष डाँगी, सुजल श्रेष्ठ, रञ्जित धिमाललगायत महत्वपूर्ण खेलाडीलाई टिममा उपलब्ध छैनन्। 

मछिन्द्रले एएफसी कपका लागि तयारी गरिरहेकाले राष्ट्रिय टिममा उनीहरू उपलब्ध हुन नसकेका हुन्। मछिन्द्रले चैत २२ मा एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। 

महत्वपूर्ण खेलाडीबिना थाइल्यान्ड प्रस्थान गर्नुअघि अलमुताइरीले जितका लागि खेल्ने बताए। 

‘हार र जित खेलका दुई पक्ष हुन्। खेलमा हामी कोही खेलाडी घाइते नहोस् भन्ने चाहान्छौं। हामीले जित्ने आसा गरेका छौं। जितले हाम्रो फिफा वरीयता सुधार गर्न सहयोग पुग्नेछ,’ उनले भने। 

अलमुताइरी विशेषगरी आगामी जुनमा हुने एसियन कपमा केन्द्रीत छन्। त्यसैले थाइल्यान्डविरूद्धको खेलभन्दा बढी एसियन कपका ध्यान दिएको उनले बताए।  

‘वास्तवमा भन्नु पर्दा मैले थाइल्यान्ड राष्ट्रिय टिमको खासै अध्ययन गरेको छैन। अहिले एसियन कप छनोटमा रहेका जोर्डन, कुवेत र इन्डोनेसियमा केन्द्रीत छु,’ उनले भने, ‘यद्यपी थाइल्यान्डले इन्डोनेसियासँग खेलेको खेलको विश्लेषण गरिरहेको छु। दुई महिनाअघि उनीहरुले इन्डोनेसियासँग खेलेका थिए। थाइल्यान्डले त्यो टिममा अहिले १२ देखि १५ परिवर्तन गरिसकेका छन्।’

पछिल्लोपटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

एएफसी एसियन कप तेस्रो चरण छनोट प्रतियोगितामा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्।

यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

थाइल्यान्ड भने समूह ‘सी’ मा छ। यो समूहमा थाइल्यान्डसँगै उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन्।

समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।

तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्।

यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरको थियो। पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो।

नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।

नेपाली टिम
किरणकुमार लिम्बु (कप्तान/गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक), दीप कार्की (गोलरक्षक), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द।

अफिसियल्स:  इन्द्रमान तुलाधर (हेड अफ डेलिगेट्स), विजय घले (अफिसियल्स), पूर्णमान चित्रकार (अफिसियल्स), अब्दुल्लाह अलमुताइरी (मुख्य प्रशिक्षक), किरण श्रेष्ठ (सहायक प्रशिक्षक), विकास मल्ल (गोलकिपर प्रशिक्षक), कृष्णभक्त मानन्धर (टिम संयोजक), मधुसुदन उपाध्यय (टिम म्यानेजर), अविष्कार पुडासैनी (फिजियो),  विवेक सुवेदी (मिडिया अफिसर), विकास गुरुङ (किट म्यानेजर) 
 

Copy link
Powered by Social Snap