२०८१ बैशाख ८

भयरहित निर्वाचन गर्न सबै प्रतिवद्ध हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्।


Advertisement


काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा शनिबार प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ’, प्रधानमन्त्री देउवाले भने।

जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको उनले बताए। ‘त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु,’ उनले भने।

मुलुकमा तीन तहको सङ्घीय शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाभाविक रहेको उल्लेख गरेका थिए।

Copy link
Powered by Social Snap